काठमाडौँ । बुङ्वाखा (फूलबारी) मासिकको १९ औँ वार्षिकोत्सवको अवसरमा १९ बान्तावा कविहरूले आफ्नो कविता वाचन गर्ने हुनुभएको छ । आगामी मङ्सिर २३ र २४ गते खोटाङस्थित जन्तेढुङ्गा गाउँपालिका चिसापानीमा हुने ‘दुई दिने बान्तावा साहित्य महोत्सव’मा सो कविता प्रतियोगिता हुने भएको हो ।

बुङ्वाखा सम्पादक तथा कार्यक्रम संयोजक पदम राईका अनुसार सो प्रतियोगितामा खोटाङबाट कविहरू दिर्गमान राई र बिर्सिका राई, भोजपुरबाट रामकुमार राई, रामचन्द्र राजालिम राई, विजय राई, सुनिता राई र हिरण राई छनोट हुनुभएको छ । धनकुटाबाट मोनकुमारी राई, लोकेन्द्र राई र विवेक राई, पाँचथरबाट ज्ञानबहादुर राई, शुकराज राई र सोमकुमार राईले कविता वाचन गर्नुहुनेछ ।

त्यस्तै, सुनसरीबाट निलु राई, रामप्रसाद राई र सायाबुङ राई, उदयपुरबाट भीष्मा राई र प्रेम कुमार राई पनि सो प्रतियोगितामा छनोट हुनुभएको छ । भारतको सिक्किमबाट शोभा राई कवितावाचन गर्न खोटाङ आउनुहुनेछ । कविहरू श्रीशीशा राई र भीम विरही राई अतिथि कविका रूपमा आफ्नो कवितावाचन गर्नुहुनेछ ।

प्रथम, दोस्रो र तेस्रो हुनुहुने कविहरूले ‘बुङ्वाखा-श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार’बाट क्रमशः २० हजार, १५ हजार र १० हजार पुरस्कार राशी प्राप्त गर्नुहुने छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानको सदस्य सचिव डा. धनप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम हुने भएको छ ।

बान्तावा भाषामा निरन्तर प्रकाशित बुङ्वाखा मासिकले विगत १९ वर्ष अघिदेखि बान्तावा राई भाषीहरूकै थातथलोमा गई वर्षेनी कार्यक्रम गर्दै आइरहेको छ । यस क्रममा यो पटक जन्तेढुङ्गा गाउँपालिका खोटाङको सहयोग र सहकार्यमा सो ठाउँमा गई कार्यक्रम आयोजना गर्न लागेको हो ।