‘द पोएट आइडल’को डिजिटल अडिसन पूरा भएको छ । नेपालको पहिलो कवितासम्बन्धी रियालिटी शो ‘द पोएट आइडल’को दोस्रो संस्करणका लागि डिजिटल अडिसन पूरा भएको हो ।
डिजिटल अडिसन पूरा भएसँगै ‘द पोएट आइडल’ले सातवटै प्रदेशका विभिन्न परिवेश तथा विभिन्न हुर्काइका अनुभवबाट प्रस्फुटनका लागि तम्तयार अभिव्यक्तिहरू आफूसमक्ष आइपुगेको जनाएको छ ।
रियालिटी शोका परिकल्पनाकार तथा निर्देशक अमनप्रताप अधिकारीले आभार सन्देश व्यक्त गरेका छन् । उनी लेख्छन्, “तपाईँहरूको अद्भूत माया पाएर हामी दङ्ग छौँ । हर्षित छौँ । हृदयतः आभारी छौँ । हामीलाई प्राप्त भएका कविताहरू विभिन्न माटोको सुवाससॅंगै खुसबुदार छन् । Global Digital Audition का लागि हामीलाई सातवटै प्रदेशबाट कविताहरू प्राप्त भएका छन् । विभिन्न माटोको सुवास र स्वाद बोकेका यी कविताहरूबाट एकछत्र नेपालको काव्यिक, सांस्कृतिक, सामाजिक, राजनीतिक र वैयक्तिक तथा काल्पनिक स्तरलाई अनुभव गर्न सक्छौँ ।”
सिमानापारिबाट समेत डिजिटल अडिसनमा उत्सहजन उपस्थिति रहेको आयोजकले जनाएको छ । शोलाई पहिलो आइडल दिएको सिक्किमबाट अडिसनका लागि पहिरो नै आएको भाव सन्देशमा व्यक्त गरिएको छ ।
“कवितालाई सिमानाले छेकेर छेकिन्न भन्ने भनाइलाई ‘द पोएट आइडल’लाई सिमानापारिका नेपाली भाषालाई माया गर्नुहुनेहरूबाट आएको कविताहरूले पुष्टि गरेको छ । हामीले विभिन्न राष्ट्रहरूबाट कविता प्राप्त गरिसकेका छौँ ।”, निर्देशक अधिकारी भन्छन्, “‘द पोएट आइडल’को ग्लोबल डिजिटल अडिसनको अन्तर्राष्ट्रिय सूचिमा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेल्जियम, जापान, फिनल्यान्ड, पोर्तुगल, मलेसिया, युएई, साउथ कोरिया तथा हाम्रो छिमेकी राष्ट्रबाट दार्जिलिङ र सिक्किमबाट यसपालि पनि सशक्त आवाज पाएका छौँ । दार्जिलिङको मिरिक, सिलीगुडी, कालिङपोङ तथा पश्चिम बङ्गालको माया पाएर हामी ज्यादै खुसी छौँ । साथै, सिक्किन, त्यो भूमि जसले हामीलाई हाम्रो पहिलो ‘द पोएट आइडल’ दिइसक्यो, त्यसकै प्रभावले गर्दा हुन सक्छ — यहाँबाट अडिसनका लागि त पहिरो नै आयो हामीकहाँ ।’
गत असोज १० देखि सुरू भएकाे ग्लोबल अडिसन कात्तिक १५ गतेसम्म सञ्चालन भएकाे थियो । ‘द पोइट आइडल सिजन वान’मा भारतको सिक्किम निवासी कवि निलम गुरुङ विजेता बनेकी थिइन् ।
‘द पोएट आइडल’को साहित्य पाटनरका रूपमा साहित्यपोस्ट (इ) दैनिक रहेकाे छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।