दाङ / साहित्यका मित्रलाल पार्देको आत्मवृतान्त “मैले भोगेको युरोप” एक कार्यक्रमकाबीच दाङको माला इन होटलमा शनिबार विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

राप्ती साहित्य परिषद् दाङ शाखाले सो कृति विमोचन गरेको थियो । राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष दीपक शर्मा “समीर”को अध्यक्षता तथा वरिष्ठ साहित्यकार तथा समालोचक डा. अमर गिरीको प्रमुख आथित्यतामा विमोचन कार्यक्रम सम्पन्न भएको थियो ।

राप्ती साहित्य परिषद् केन्द्रीय अध्यक्ष टीकाराम उदासीले कृतिको समीक्षा गर्नुभएको थियो। साहित्यकार उदासीले समीक्षकको रूपमा बोन्दै भन्नुभयो, “मैले भोगेको युरोप आत्मवृतान्त पुस्तक एउटा विदेश गएका नेपालीहरूले भोग्नुपरेको यथार्थ कथा हो । कृतिमा लेखक आफूले नेपालमा रहँदा भोगेका कठिनाई तथा संघर्षको कथा र विदेशमा रहँदा भोग्नुपरेका सङ्घर्षको कथा जस्ताको तस्तै छ। नेपालीहरूले सोचेको जस्तो युरोपमा छैन ।”

विशिष्ट अतिथिको रूपमा रहनुभएका साहित्यका तथा लोकसाहित्य अन्वेषक डा. गोविन्द आचार्यले विदेश जाने परम्पराले विदेश गएकाले भोग्नुपर्ने पीडा एकातिर छ भने अर्कोतिर जान खोजेका तर विभिन्न कारण गर्दा जान नपाएकाहरूको पीडा छ भने बुढाबुढी मर्दा मलामी नपाइने हो कि भन्ने पीडा रहेको बताउनुभयो ।

विदेश जाने परम्पराको इतिहास ४०० वर्षको भए पनि २०४६ पछि यसले झन् डर लाग्दो रूप लिएको उहाँले बताउनुभयो ।

“मैले भोगेको युरोप”का लेखक मित्रलाल पार्देले आफूले युरोपमा भोग्नुपरेको दु:ख कथा सुनाउँदा उनका साथै उनका परिवारका सदस्यहरूको आँखा रसाएका थिए भने सभाहल नै भावुकमय बनेको थियो ।

राप्ती साहित्य परिषद् दाङ शाखा कोषाध्यक्ष साहित्यकार यम रेग्मीको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको संचालक सचिव प्रकाश केसीले गर्नुभएको थियो ।