धवल पुस्तकालय पाल्पाको आयोजनामा साहित्यकार विनाेद नेपालकाे नियात्रासङ्ग्रह ”ससुरालीदेखि सुस्तासम्म” पाल्पामा एक भव्य समारोहबिच विमाेचन भयो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार चाेलेश्वर शर्मा हुनुहुन्थ्यो । विशेष अतिथिका रूपमा क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई हुनुहुन्थ्यो । कृतिको समीक्षकका रूपमा डा. शंकरप्रसाद गैरेलाई आमन्त्रण गरिएको थियो ।

कार्यक्रममा साहित्यिक संस्थाका प्रमुखहरू, साहित्यकारहरू, पत्रकारहरू तथा विद्यार्थीहरूकाे बाक्लै सहभागिता कार्यक्रममा थियो । सर्वप्रथम प्रमुख अतिथिले पानसमा दीप-प्रज्ज्वलन गरेलगत्तै कृतिलाई लाेकार्पण गर्ने काम भयो । प्रमुख अतिथिलगायत मञ्चमा रहेका व्यक्तिहरूले संयुक्त रूपमा कृति लाेकार्पण गर्नुभयो ।

कृतिमाथि समीक्षा गर्ने काम डा. शंकरप्रसाद गैरेले गर्नुभयो । उहाँले कृतिको अन्तर्बाह्य विशेषतालाई प्रकाश पार्नुभयाे । कृतिमा निहित विषयवस्तु र लेखहरूकाे प्रकृति अनि समेटिएको विषयवस्तुलाई उहाँले प्रकाश पार्नुभयाे । केही शीर्षकलाई हेर्दा हाँसो जगाउने खालको हुनुका साथै विविध स्वाद र ढंगका लेखहरू कृतिमा रहेको मर्म उहाँले प्रस्ट पार्नुभयाे ।

यात्राप्रतिकाे लेखकीय माेह विशिष्ट खालको रहेको छ । यात्रालाई मात्र व्यक्त गर्नभन्दा विचार वा समस्यालाई व्यक्त गर्ने कुरामा लेखक संवेदनशील रहेको कुरा उहाँले प्रकाश पार्नुभयाे । देशको समकालीन अवस्था र सीमाक्षेत्रमा नेपालीहरूले भाेगेकाे समस्यालाई कृतिमा उठान गरिएको छ भन्ने धारणा उहाँको थियो । वर्तमान समयमा गाउँठाउँमा रहेका समस्यालाई जाेड्ने काम लेखकले गरेको निष्कर्ष उहाँले प्रस्तुत गर्नुभयो ।

प्रमुख अतिथि चाेलेश्वर शर्माले विनाेद नेपालसँगको परिचय लामाे भएको तर साहित्यिक दृष्टिले भने दुईपटक यस्तै मञ्चमा भएको सन्दर्भ उल्लेख गर्नुभयो । आफूले साधना गर्ने मात्र नभई अरूलाई पनि लेख्न प्रेरित गर्ने काम विनाेद नेपाल गरेको कुरा प्रकाश पार्नुभयाे । परिष्कृत रूपमा आएको कृतिमा रमणीय चारुता रहेको सन्दर्भ उल्लेख गर्नुभयो ।

वर्तमानको तिक्ततापूर्ण अवस्थाका साथै सुखद् र आशाका स्वरहरू कृतिमा समेटिएको कुरा व्यक्त गर्नुभयो । साहित्यमा मबाट प्रस्तुत गर्दा निजात्मकता र नियात्रा हुन्छ भन्ने विचार व्यक्त गर्नुभयो । लेखकको निरन्तर साधना र सफलताको शुभकामना उहाँले व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथि क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईले विनाेद नेपालकाे मित्रप्रतिकाे सद्भावकाे पाटाेलाई झल्काई निबन्धका माध्यमबाट यात्रानुभूतिका साथै समसामयिक समस्यालाई झल्काउने काम कृतिकारले गरेको उल्लेख गर्नुभयो । विनाेद नेपालकाे लेखनमा सरल भाषामा समसामयिक समस्यालाई प्रकाश पारिएको विचार व्यक्त गर्नुभयो ।

कृतिकार विनाेद नेपालले पाल्पामा कृति विमाेचन गर्ने कुरामा याेजनाअनुरूप अगाडि बढेको सन्दर्भ उल्लेख गर्नुभयो । कार्यक्रमकाे व्यवस्थापनका लागि धवल पुस्तकालयले देखाएको सद्भावप्रति आभार व्यक्त गर्नुभयो । आफूमा सानैदेखि पत्रिका सङ्कलन गर्ने र पुस्तक पढ्ने रुचि भएको र उच्च शिक्षामा त्रिभुवन बहुमुखी क्याम्पस र धवल पुस्तकालयबाट धेरै प्रेरणा मिलेको सन्दर्भ उहाँले जाेड्नुभयाे । पाल्पामा २०३८/ ०३९ तिर हातेपत्रिका प्रकाशन थालेको कुरा पनि स्मरण गर्नुभयो । यही कारण साहित्य र पत्रकारितामा रुचि भएकाे कुरा पनि उल्लेख गर्नुभयो ।

आफ्नाे साहित्यिक यात्रा र लेखनसम्बन्धमा प्रकाश छाेटाे प्रकाश पनि पार्नुभयाे । उमेरअनुसारका जीवनका माेड तथा रङहरूलाई झल्काउने काम पनि उहाँले गर्नुभयो । फुर्सदिलाे भएपछि यात्रामा हिँडेको अनि देखेका र भाेगिएका अनुभूतिहरूलाई लेखेको कुरा प्रस्तुत गर्नुभयो । वस्तुस्थितिकाे यथार्थ प्रस्तुति दिएर पाठकलाई सकेसम्म सँगै हिँडाउने उद्देश्य आफ्नाे रहेको स्वीकृति उहाँको थियोे ।” हरेक सर्जकले आफ्नाे रचनाकाे प्रतिक्रिया खाेज्छ” उहाँको धारणा थियोे । ”यात्रामा टाढा जानुपर्छ भन्ने हाेइन तर सूक्ष्म रूपमा नियाल्न सक्नुपर्छ” उहाँको कथन थियो । ”स्थानीयसँगकाे संवादलाई कच्चापदार्थका रूपमा प्रयोग गर्छु” उहाँले सङ्केत गर्नुभयो ।

विनाेद नेपालका सहपाठी त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका पूर्व क्याम्पस प्रमुख जीवनबहादुर थापाले विनाेद नेपालकाे पारिवारिक तथा सामाजिक लाेकप्रियतालाई उल्लेख गरी उहाँको साहित्यतर्फकाे रुझानलाई प्रकाश पार्ने काम गर्नुभयो । त्रिभुवन बहुमुखी क्याम्पसमा पढ्दाकाे समयमा साहित्यकाे अभियान सञ्चालन गर्ने कुरामा विनोद नेपालकाे सक्रियतालाई स्मरण गर्नुभयो । साहित्यमा निरन्तरताकाे शुभकामना पनि उहाँले व्यक्त गर्नुभयो ।

यसैगरी लेखकका लामाे समयदेखिका साथी नारायण अधिकारीले विगतको विद्यार्थी जीवन तथा विनाेद नेपालकाे व्यक्तित्वलाई झल्काउने काम गर्नुभयो । विद्यार्थीकालदेखि नै साहित्यिक तथा अन्य सामग्रीहरूकाे पठनमा विनाेद नेपालकाे रुचि रहेको सन्दर्भ पनि उहाँले उल्लेख गर्नुभयो । तात्कालिक समयका केही राेचक प्रसङ्गहरू पनि उहाँले उल्लेख गर्नुभयो ।

शुभकामना मन्तव्य राख्नेहरूमा पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गाेविन्द भट्टराईले विनोद नेपालकाे लेखन तथा प्रवृत्तिलाई उल्लेख गर्नुभयो । उहाँले निरन्तर साधनाकाे शुभकामना पनि व्यक्त गर्नुभयो । साहित्यकार मन गहिरेले पाेखराथाेकमा जन्मेर सिर्जनामा निरन्तर लागेका नेपाललेले पाल्पा मात्र नभई राष्ट्रिय तहमा याेगदान पुर्‍याउनुभएको कुरा स्पष्ट पार्नुभयाे । रुपन्देहीबाट कार्यक्रममा आउनुभएका साहित्यकार खगेन्द्र बस्यालले बाछिटाद्वारा शुभकामना व्यक्त गर्नुभयो । आफू पाल्पाली भएको र साहित्यका क्षेत्रमा रुचि रहेको कुरासँगै कृतिकार विनाेद नेपाललाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

लघुकथा, नियात्रा र छेस्का कवितामा विनाेद सरकाे सक्रियतालाई उहाँले प्रशंसा गर्नुभयो । पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करराज रेग्मीले विभिन्न कृतिका लेखक विनाेद नेपालकाे बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्नुभयाे । भविष्यमा अरू कृतिहरू पनि पढ्न पाइयोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभयो । तानसेन नगरपालिका वडा नं ८ का अध्यक्ष साेमनाथ अर्यालले पाेखराथाेककाे माटाेले धेरै साहित्यकार जन्माएको सन्दर्भ उल्लेख गर्नुभयाे । उहाँले कृतिकारकाे शीर्षकद्वारा देशभक्तिकाे भावना प्रस्तुत भएको सन्दर्भसँगै सुस्ताले नेपालीलाई पीडा दिएको मार्मिक विषयलाई उठाउन गर्नुभएकोमा लेखकलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रम पुस्तकालयका अध्यक्ष युवराज पाैड्यालकाे अध्यक्षतामा भएको हाे । कार्यक्रममा उपस्थितहरूलाई स्वागत गर्नुका साथै कृतिकार विनाेद नेपालकाे परिचयात्मक झलक प्रस्तुत गर्ने काम पुस्तकालयका सचिव डा. टंकप्रसाद पन्थबाट भयो । कार्यक्रमकाे सञ्चालन पुस्तकालयका महासचिव राजेशकुमार अर्यालले गर्नुभएकाे थियोे ।