जयराम बिडारी । संसाक मासिक पत्रिकाको एघारौं वार्षिकोत्सवका अवसरमा संसाक सम्मान २०८० बाट फरक विधाका चार साहित्यकारहरूलाई एकसाथ सम्मान गरेको छ ।

सामुदायिक सेवा केन्द्र गोङ्गवुँमा आयोजित उक्त कार्यक्रममा बागमती प्रदेश क्षेत्र नं ६ का माननीय सभासद अमन मास्केको प्रमुख आतिथ्यता एवं संसाककी उपसम्पादक भवानी मैयाँ पन्तको सभापतित्वमा सम्पन्न गरिएको उक्त कार्यक्रममा डा. शैलेन्दुप्रकाश नेपाल, प्रा.डा.गोविन्द मानसिंह कार्की, डा. अम्बिका अर्याल , काठमाडौँ प्याव्सनका अध्यक्ष प्रेम राई परीक्षित, तथा सामुदायिक सेवा केन्द्रका अध्यक्ष केदारनाथ पाठकलगायतले आआफ्नो मन्तव्य राखेका थिए ।

पत्रिकाले साहित्यिक पत्रकार संघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई नगद एघार हजार राशीसहित संसाक गोपालराज-मैयादेवी साहित्य सम्मान २०८०’ प्रदान गरेको छ ।

यसैगरी पत्रिकाले लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार विजयध्वज थापालाई नगद दस हजारसहित ‘संसाकयात्री नियात्रा सम्मान २०८०’ सम्मान प्रदान गरेको थियो ।

यसैक्रममा काभ्रेलाई कर्मथलो बनाएर साहित्यिक गतिविधिमा संलग्न साहित्यकार रामसुन्दर देउजालाई दस हजार नगद राशीसहित ‘संसाक अनामणि समीक्षा सम्मान २०८०’ले सम्मानित गरिएको थियो,भने पाँच हजार नगद राशीसहित ‘संसाक बालप्रतिभा पुरस्कार २०८०’ ले डडन ब्रिज एकेडेमीका छात्रा खुशिपल परियारलाई सम्मान प्रदान गरेको थियो । सोही सोही कार्यक्रममा “हिमाली सौगात” (पत्रिका)को नयाँ अंकको लोकार्पण समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि माननीय सांसद अमन मास्केले आफू पेशाले इन्जीनियर समयले राजनीतिकर्मी बनाए तापनि यतिबेला बिशुद्ध साहित्यिक कार्यमा रमाउन समयको संयोजन मिलाएको बताउंदै साहित्य आफ्नो समेत रुचिको बिषय रहेको खुलासा गर्दै ‘साथी’ कथाको कथांश वाचन गरेका थिए ।

स्थापित साहित्यकारहरुको बाक्लो उपस्थिति बीच संसाकका सम्पादक उमेश पाण्डेले धन्यवाद ज्ञापन गरेको सो कार्यक्रमको संचालन कवि उत्तम विचार भेट्वालले गरेका थिए ।