अनेसास पुरस्कार समर्पण कार्यक्रम तथा ११५ औँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती विशेष कार्यक्रम अमेरिकाको भर्जिनियामा भव्यरूपमा सम्पन्न भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
पुरस्कार समितिका संयोजक तिर्थराज पाण्डेयको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा प्राज्ञ सदस्य बाबा बस्नेत, बिओटी सभापति पदम विश्वकर्मा, अनेसास केन्द्रीय अध्यक्ष गोवर्धन पूजा, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, निवर्तमान बिओटी अध्यक्ष गीता खत्रीको विषेश आतिथ्यता रहेको थियो ।
त्यसैगरी, अतिथीहरूमा वरिष्ठ साहित्यकार कृष्ण धाराबासी, नीलम कार्की निहारिका, एनआरएनए अध्यक्ष डा. अर्जुन बन्जाडे, पूर्वअध्यक्षहरू पुरू सुवेदी, भिम रेग्मी र मोहन सिटौला, सल्लाहकारहरूमा रोहिणी शर्मा, तिर्थराज अधिकारी, सीता पाण्डे रहनुभएको थियो ।
कार्यक्रममा आसन ग्रहणपश्चात दुबै देशको राष्ट्रिय गान साना भाइबहिनीहरूबाट गाइएको थियो । प्रमुख अतिथिबाट कार्यक्रममको उद्घाटन कलसमा दियोवाली गरिनुका साथै महाकविको फोटोमा माल्यार्पण गरिएको थियो ।
डिसी च्याप्टरका महासचिव निलकण्ठ सुवेदीले सबैलाई स्वागत गर्नुभएको कार्यक्रममा हरिमाया अधिकारीबाट लक्ष्मीप्रसाद देवकोटाको गीत गायन र संयोजक तिर्थराज पाण्डेबाट पुरस्कारहरूको जानाकारी गराइएकाे थियो। साथै, पुरस्कृत व्यक्तित्वहरूलाई पुरस्कार प्रदान गरिनुका साथै पूर्वअध्यक्ष भीम रेग्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएकाे थियो ।
त्यस्तै, होमनाथ सुवेदी, डा. श्याम कार्की, रोहिणी शर्मा, सुमन तिम्सिना, मोहन सिटौलालाई २०२१ को दीर्घ सेवा पदक प्रदान गरिएको थियो भने बोर्ड अफ् ट्रष्टीका निर्वाचन कमिटीका प्रमुख निर्वाचन आयूक्त भिम कार्की र निर्वाचन आयूक्तहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
केन्द्रीय अध्यक्ष गोवर्धन पूजाले आफ्नो मन्तव्यसहित पुरस्कृत व्यक्तित्वहरूलाई बधाई ज्ञापन गर्नुभएको थियो।
कार्यक्रममा साहित्यकार गीता खत्रीको रोबोट जर्ज, कवि ईश्वरी भट्टको आकाशपारिबाट र अनेसास न्यूह्याम्पसायरले प्रकाशन गरेको कवि गोपाल भण्डारीको छन्द कवितासंग्रह दोस्रो प्रकाशनको विमोचन गरिएको थियो। कृतिकारहरूका तर्फबाट गीता खत्री, पुरस्कृत व्यक्तित्वहरू महेश पौड्याल, महेश्वर पन्त, सिन्धु पौडेल र मोहन सिटौलाले मन्तव्य राख्नुभएकाे थियो भने बिओटी पुरस्कार समितिका सदस्य सचिव ईश्वरी भट्टले पुरस्कार दाता र पुरस्कृत व्यक्तित्वहरूलाई धन्यवाद एवं बधाई व्यक्त गर्दै समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यस वर्षका पुरस्कारहरूको राशि अमेरीकी डलर बाह्र हजार बराबरको रहेको थियो ।
त्यसैगरी, मदन पुरस्कार विजेताहरूमध्येबाट नीलम कार्की निहारिका, पुरस्कार दाताहरूमध्येबाट रोहिणी शर्मा, अतिथिहरूबाट होमनाथ सुवेदीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमकाे दोस्रो सेसन केन्द्रीय अध्यक्ष गोवर्धन पूजाको अध्यक्षतामा बिओटी सदस्य रश्मी भट्टले कविता वाचनसहित सञ्चालन गर्नुभएको थियो । धेरै कविहरूको रचना वाचनपश्चात् अध्यक्षले सो कार्यक्रमको समापन गर्दै पुनः बिओटी सभापति पदम बिश्वकर्माको संयोजनमा वृहत् गोष्ठी गरिएको थियो ।
केन्द्रीय वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेको सञ्चालनमा अनेसासको विगत, वर्तमान र भविष्यका विषयमा सहभागीहरूले आफ्नो धारणा राख्नुभएको थियो । सो कार्यक्रमको टिपोट नारायण अधिकारी र निजानन्द मल्लले गर्नुभएको थियो ।
सभापति विश्वकर्माले सबैका भावनाको कदर गर्दै अनेसासलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
यस वर्ष पुरस्कृत हुनेहरूमा भारतका रण काफ्लेको उपन्यास रैथाने (अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार, $२१००), अमेरिकाका महेश्वर पन्तको बौलाको डायरी ($१०००), नेपालका श्री बाबु कार्कीको निबन्ध शन्दिग्ध शताब्दी ($१०००), नेपालकै कल्पना खरेलको रानी तलाउ ($१०००), गणेश कुमार जिसीको अरनिको एशिया ($१०००), इजरायलबाट सिन्धु पौडेलकाे मृतसागरको उचाइबाट कवितासंग्रह ($१०००), नेपालका डा. गोविन्द आचार्यको दङ्गी उर्वशी ($१०००) र नेपालकै निर्मोही व्यासको आवारा बादल नियात्रा ($१०००) रहेका थिए ।
त्यस्तै, नेपालबाट महेश पौड्यालको अपरिचित अनुहार कथासंग्रह ($१०००), खेम रिजालको अमेरिका ऊर्जा (गीत, $५००) र अमेरिकाका मोहन सिटौलालाई सुनिल पाठक विशिष्ठ पुरस्कार ($२०००) प्रदान गरिएकाे थियो ।
सो पुरस्कारहरूको प्रायोजन प्राडा. गोपी उप्रेती, रोहिणी शर्मा, डा. श्याम कार्की, सुमन तिम्सिना, गीता खत्री, डा. चुडामणी खनाल, तीर्थराज पाण्डे, पदम विश्वकर्मा, पुरू कल्पना सुवेदी र सुनिल पाठकले गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।