साहित्यकार लव जोशीद्वारा नेपाली र अङ्ग्रेजी दुवै भाषामा लिखित काव्यसङ्ग्रह ‘शीत काव्य’ पाल्पामा लोकार्पण भएको छ । पाल्पा साहित्य समाजको २९ औँ वार्षिक समारोह, पाल्पाली आदिकवि छविलाल नेपालको १७४ औँ जन्मजयन्ती तथा शास्त्रकवि माधवप्रसाद देवकोटाको १२१ औँ जन्मजयन्तीको संयुक्त अवसरमा जोशीको काव्य कृति लोकार्पण भएको हो ।
कृतिको लोकार्पणपछि कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले सम्बोधनको क्रममा भन्नुभयो, “पाल्पाका आदिकवि छविलाल नेपालका सन्ततीले धवल पुस्तकालय निर्माण गर्न जग्गा प्रदान गर्नुभएको छ । माधवप्रसाद देवकोटा राष्ट्रियस्तरमै स्थापित कवि हुनुहुन्छ । कृतिकार लव जोशीको शीत काव्य नौलो रहेको छ । सम्मानित व्यक्तित्वहरू लव जोशी, ज्ञानकाजी शाक्य, मदन देउराली र सुशीला श्रेष्ठ योग्य पात्र सम्मानित हुनुभएको छ ।”
कार्यक्रममा कृतिकार लव जोशीलाई छविलाल नेपाल पाल्पाली पुरस्कारद्वारा सम्मानसमेत गरियो । पाल्पाली आदिकवि छविलाल नेपालको नाममा स्थापित यो पुरस्कारबाट समाजले स्थापनाकाल (२०५१ साल) देखि नै विभिन्न व्यक्तित्वहरूलाई पुरस्कृत गर्दै आएको छ ।
जोशीलाई शीत काव्य समाजद्वारा समेत सम्मान पत्र समर्पण गरियो । समाजले यस वर्ष भैरव तुलसी सिंह स्मृति पुरस्कारबाट कलाकार मदन देउराली, अथक रेग्मी सृजना पुरस्कारबाट ज्ञानकाजी शाक्य र राधाइन्द्र समाजसेवा सम्मानद्वारा समाजसेवी एवं शिक्षासेवी सुशीला श्रेष्ठलाई सम्मान गरेको छ ।
कार्यक्रममा लोकार्पण गरिएको कृतिमाथि नेपाली र अंग्रेजीमा गहन समीक्षा साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पाका महासचिव चन्द्रकान्त न्यौपानेद्वारा गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।