युवा गजलकार नृपेश उप्रेतीको एकल गजल वाचन गरिएको छ । काव्यकुञ्ज साहित्य प्रतिष्ठान चितवनको आयोजना र रत्ननगर वाङ्मय परिषद्को सहकार्यमा रत्ननगरमा आयोजित कार्यक्रममा गजलकार नृपेश उप्रेतीले गजल प्रस्तुत गरेका हुन् ।

रत्ननगर नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा उप्रेतीका गजल सुन्न चितवन र नवलपरासीका स्रस्टाहरूको बाक्लो उपस्थिति थियो ।उप्रेतीले कार्यक्रममा शृङ्गाररस र समसामयिक गजलहरू सुनाएका थिए ।

रत्ननगर, चितवन घर भएका उनी पछिल्लोसमय बेलायत बस्दै आएका छन् । विसं. २०७४ सालमा `मुसाफिर´ गजलसङ्ग्रह प्रकाशन गरेका उनका एक सय बढी गजल रेकर्ड पनि भएका छन् । केही नेपाली चलचित्रमा पनि उनका गीत समावेश छन् ।

करिव दुई घण्टाको बसाइँमा नृपेशले २० वटा गजल प्रस्तुत गरे । अधिकांश गजल तरन्नुममा प्रस्तुत गरेका उनले केही गजललाई वाचन गरे । उनका हरेक शेरलाई स्रोताले ध्यानपूर्वक सुनेका थिए भने गजलमा तालीको लहर पनि उत्तिकै आएको थियो ।

कार्यक्रममा बोल्दै गजल मञ्च चितवनका अध्यक्ष लेखराम सापकोटाले नृपेश उप्रेती गजलका क्षेत्रमा स्थापित नाम भएको बताए ।