सोलुखुम्बु । महाकुलुङ गाउँपालिका स्तरीय साहित्य सिर्जना प्रष्फुटनका लागि आयोजना गरिएको खुल्ला गजल, कविता लेखन तथा वाचन प्रतियाेगिता सम्पन्न भएको छ।
‘नगरकेन्द्रित मात्र हाेइन साहित्य सिर्जना गाउँस्तरदेखि उजागर अबकाे आवश्यक्ता’ भन्ने मुल नाराका साथ स्थानीय साहित्यप्रेमी दुई युवा मनुहाङ किराँती र झलक कुलुङद्वारा आयोजित सो प्रतियोगितामा कवितातर्फ युनिका कुलुङको ‘मेराे देश नेपाल’ प्रथम, विविशिका कुलुङको ‘मेराे देश’ द्वितीय, गणेश कुलुङको ‘संस्कृति’ तृतीय र दिपन कुलुङको ‘आमा’ शीर्षकको कविताले सान्त्वना पुरस्कार प्राप्त गरेको आयोजक मनुहाङ किराँतीले जानकारी दिए।
गजलतर्फ गणेश कुलुङ प्रथम, ज्ञानुका कुलुङ द्वितीय र सञ्जय कुलुङ तृतीय भएका थिए । दुबै विधामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद दुई हजार, पन्ध्र सय, एक हजार र र पाँच सयका साथमा प्रमाण पत्रले सम्मान गरिएको थियो ।
सो कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सूर्य कुलुङले महाकुलुङमा साहित्यसम्बन्धी प्रतियोगिता इतिहासमै पहिलाेपटक भएकाेमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा गाउँपालिकाले यस किसिमका कार्यक्रमका लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे। गाउँपालिकाभित्र शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि साहित्यतर्फ पछाडि परेको बताएका राईले यस्ता कार्यक्रमहरुले यो क्षेत्र पनि अब्बल बन्नेमा दुई मत नरहेको धारणा राखेका थिए।
कार्यक्रममा उपाध्यक्ष बिपना कुलुङ, ५ नं वडाध्यक्ष महलसिंह कुलुङ र गुंदेल माबिका प्रधानाध्यापक लवकुमार राईलगायतको उपस्थिति रहेको सो कार्यक्रममा वडाध्यक्ष महलसिं कुलुङले आगामी दिनहरुमा यस्ता साहित्यक कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्थापन गर्न वडासमेत नचुक्ने प्रतिबद्धता व्यक्त गरे।
महाकुलुङका हकमा साहित्य क्षेत्रको उत्थानका लागि आफ्नै विद्यार्थी मनुहाङ किराँती र झलक कुलुङले सुरुवात गरेकाेमा बधाई र धन्यवाद समेत व्यक्त गरे।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।