
नेपाली साहित्य समाज न्युजिल्यान्डका अध्यक्ष डा. वीरेन्द्र केसीले आफ्नो तेस्रो कृति ‘जूनको रोटी’ काव्य सङ्ग्रहको आवरण सार्वजनिक गर्नु भएको छ ।
एक दशकदेखि न्युजिल्यान्ड बस्दै आउनुभएका दाङका केसीले सन् २०२१ मा ‘आमाको काखमा दुखेको देश’ कविता संग्रह र सन् २०२२ मा ‘किवीको देशमा डाँफेको गुञ्जन’ गजल संग्रह निकाल्नु भएको थियो ।
स्कुले जीवनदेखि नै साहित्य लेखनप्रति रुचि राख्ने उहाँले न्युजिल्यान्डलाई कर्मथलो बनाएपछि भने काव्यकारितालाई तीव्र बनाउनुभएको हो ।
डा. केसीले सिँचाइमा पिएचडी गर्नुभएको छ भने हाल प्राध्यापन तथा एउटा कन्सल्टेन्सीमा वरिष्ठ जलस्रोत इन्जिनियरका रुपमा कार्यरत हुनुहुन्छ । उहाँ न्युजिल्यान्डका विभिन्न साहित्यिक गतिविधिमा सक्रियसमेत हुनुहुन्छ ।
उहाँको यो काव्य सङ्ग्रह आगामी मंसिर ६ गते सार्वजनिक हुँदैछ । यसमा पचास वटा मुक्तक, पचास वटा हाइकु र पचास वटा सेन्यूहरू संग्रहित छन् ।
तीन वटै सङ्ग्रहलाई उहाँले आफ्ना मातापिता लीलाकुमारी तथा घनश्याम केसीप्रति समर्पित गर्नुभएको छ भने प्रकाशन कार्यमा उहाँका सासूससुरा कमला र कमल केसीले सहयोग गर्नुभएको छ ।
पुस्तकलाई साहित्यपोस्ट समूहले बजारमा ल्याउने तयारी थालेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
