अनेसास, बेल्जियम च्याप्टरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्म जयन्ती, नवौं अधिवेशन तथा पुस्तक विमोचन लक्ष्मी पूजाकै दिन बेल्जियमको आन्ट्रोपेन शहरमा बेनेलक्सका लागि नेपाली राजदूत महामहिम गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यतामा सु-सम्पन्न गरेको छ ।

उपाध्यक्ष सौरभ करन्जितले पाहुनाहरूलाई स्वागत गर्नु भएको लक्ष्मी जयन्तीको अध्यक्षता संस्थाका अध्यक्ष डिल्ली अम्माईले गर्नु भएको थियो।

त्यस्तै कार्यक्रमको संचालन महासचिव लोकनाथ शर्माले गर्नु भएको थियो ।

कार्यक्रममा कवि विमल गिरीद्वारा लिखित “अजम्बरी” मुक्तक संग्रहको राजदूत राजभण्डारीले विमोचन गर्नु हुँदै विदेशमा रहेर पनि नेपाली साहित्यमा निरन्तर लाग्दै नयाँ नयाँ कृति प्रकाशन गर्नुहुने कविवर विमल गिरिलाई हार्दिक बधाई दिनु भएको थियो।

राजदूत राजभण्डारीले अनेसास, बेल्जियमले विदेशमा पनि नेपाली बीच नेपाली भाषा, साहित्य र संस्कृतिको प्रबर्धनमा लागिरहेकाले नै आफू अति ब्यस्त समयका बाबजुद पनि कार्यक्रममा उपस्थित रहेको बताउनुभयो । साथै उहाँले संस्थालाई अझै सकृय बनाउन आग्रह गर्नु भयो ।

कार्यक्रममा सल्लाहकार दीपेन्द्र के.सी.ले विमोचित कृतिको बारेमा समालोचना गर्नु भएको थियो भने पंचम अधिकारीले महाकवि लक्ष्मी प्रसाद देवकोटाको नेपाली भाषा तथा साहित्यमा योगदानको बारेमा बोल्नु भएको थियो ।

यसै कार्यक्रमका विविध पक्षहरूबीच, फोटोमा मुक्तक प्रतियोगिताद्वारा संचालित १ देखि १०० अंकसम्मको २७० जना विजयीहरूको ६५८ वटा मुक्तक तथा सम्बन्धित फोटोहरूसमेत समाहित रहेको ‘विजयोपहार’ मुक्तकसंग्रहको पनि भव्य लोकार्पण भएको छ।

त्यस्तै कार्यक्रममा अमेरिकाबाट पाल्नु भएका वरिष्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम ढकालका दुई कृति “भगवानलाई प्रश्न” तथा “Borderless Dreams” नामक कृतिको विमोचन सु-सम्पन्न भयो।

कार्यक्रममा साहित्यकार कौशल खनाल, गोपाल दाहाल, श्रीराम प्रसाईं, ब्रम्ह वाग्ले, जमुना गैरे बास्तोला, परमानन्द सापकोटा, विमल गिरि, सौरभ कारन्जित, चन्द्र शर्मा, पंचम अधिकारी, लोकनाथ शर्मा, दीपेन्द्र के.सी. तथा डिल्ली अम्माई लगायतले आफ्ना रचनामार्फत आदिकवि लक्ष्मी प्रसाद देवकोटाप्रति श्रद्धा सुमन व्यक्त गर्नु भएको थियो।

संस्थाको नवौं अधिवेशनले सौरभ कारन्जित अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति निर्माण गरेको छ। जसमा लोकनाथ शर्मा उपाध्यक्ष, गोपाल दाहाल महासचिव, जमुना गैरे बास्तोला सचिव र श्रीराम प्रसाईं कोषाध्यक्ष निर्वाचित हुनुभएको छ ।

त्यस्तै कार्यसमितिका सदस्यहरूमा क्रमशः मुना ताम्राकार, मुना राई, कौशल खनाल, विना खतिवडा, लीलाधर पन्त र विनोद शाही चयन हुनुभएको छ ।

सल्लाहकार मण्डल र समितिलाई पूर्णता पहिलो बैठकबाट दिने निर्णय भएको छ ।

स्मरण रहिस,अधिवेशनमा नेपाली खेलकुद संघ बेल्जियम, एनआरएनए बेल्जियम, मोना बेल्जियम, नेपाली व्यवसायी संघ, प्रवाशी नेपाली संघ युरोप तथा बेल्जियम लगायत विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।