छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७८ र २०७९ प्रदान गरिएको छ । उक्त पुरस्कार २०७८ का लागि वसन्त ओली वसन्तीको गजलसंग्रह ‘बोई’ र २०७९ का लागि प्रदीप रोदनको गजलसंग्रह ‘मफलर’लाई प्रदान गरिएको हो ।

राजधानीको कलंकीस्थित दृश्य होटलमा सम्पन्न पुरस्कार वितरण समारोहमा अग्रज गजलकार रवि प्राञ्जल ,करुण थापा ,आख्यानकार अमर न्यौपाने, पुरस्कार कोषका संरक्षक जे.सागर र उहाँका मातापिता छायाँदेवी पराजुली र चेतनाथ पराजुलीले पुरस्कार प्रदान गर्नुभएको थियो ।

बुलबुल पब्लिकेसनका निर्देशक तथा पुरस्कार कोषका संयोजक अच्युत घिमिरेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पुरस्कृत गजलकार द्वय ओली र रोदनले आफ्ना गजल वाचन गर्नुभएको थियो भने गायक राज सिग्देलको विशेष सांगीतिक प्रस्तुति रहेको थियो । कार्यक्रममा रवि प्राञ्जल ,करुण थापा अमर न्यौपाने र जे.सागरले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

गजलकार जे. सागरले आफ्ना मातापिताको नाममा २०७४ सालमा स्थापना गरेको उक्त पुरस्कार त्यसयता नियमित प्रदान गरिंदै आएको छ । १० हजार नगद राशी सहितको उक्त पुरस्कारको संयोजन बुलबुल पब्लिकेसनले गर्दै आएको छ ।