पशुपति क्षेत्रभित्र रहेको सुन्दरस्थल वनकाली उधानमा अनेसास नेपाल च्याप्टरको आयोजनामा लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती एवम् अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेद्वारा लेखिएको कविता कृति “नेता बन छोरा नेता बन” लोकार्पण कार्यक्रम भव्य रुपमा सम्पन्न भयो ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र कि.सी.को अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा डा. विष्णुविभू घिमिरे हुनुहुन्थ्यो भने लेखक सर्वज्ञ वाग्ले अनि विशेष अतिथिमा अनेसास केन्द्रका सल्लहाकार प्रतीक ढकाल, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम, अनेसास पूर्व अध्यक्ष राधेश्याम लेकाली, उपाध्यक्ष डा.रेणुका सोलु, महासचिव बिमला निरौला, अनेसास प्राज्ञिक केन्द्रीय समिती सदस्य विधान आचार्य हुनुहुन्थ्यो ।

त्यस्तै, कार्यक्रममा साहित्यकारहरू युवराज मैनीली, मुरारी सिग्देल, रामप्रसाद पन्त, लक्ष्मी उप्रेती, सन्ध्या पहारी,गीता कार्की, मन्जिला अनिल, निर्मलरमण पराजुली, रञ्जना निरौला,सुशीला हसिना, कमला रिसाल, इन्दिरा ढकाल, सुचिता काफ्ले,शान्ता बस्नेत, विक्रमभक्त जोशी, भवानी खतिवडा,रमेश दाहाललगायत सयौँको सङ्ख्यामा साहित्यकार एवम् समाजसेवी व्यक्तित्वजनको गरिमामय उपस्थिति रहेकाे थियो ।

कार्यक्रममा डा. सोलुले कृतिको समीक्षा गर्नुभयो भने देवकोटाका बारेमा मन्जिला अनिल र शान्ति रिसालले बोल्नुभयो । उपस्थित सबै अतिथिहरूले लेखकलाई बधाई दिँदै शुभकामना मन्तव्य राख्नुभयो भने केही कविहरूले कविता सुनाउनुभयो ।

गहन कार्यक्रम सञ्चालनको भूमिकामा महासचिव रञ्जना निरौला हुनुहुन्थ्यो भने स्वागत मन्तव्य उपाध्यक्ष निर्मल रमण पराजुलीले व्यक्त गर्नुभयो । डा. घनश्याम खतिवडाले पशुपति क्षेत्रको महत्त्वका बारेमा विस्तृत रुपमा आफ्नो भनाइ राख्नुभयो ।