साहित्यपोस्ट

गैरआवासिय नेपाली संघ (एनआरएनए)ले आयोजना गरेको ‘एनआरएनए ग्लोबल स्पीच कन्टेस्ट’ प्रतियोगीता सम्पन्न गरेको छ । अनलाईन जुममार्फत १९ वर्षमुनीका नेपालबाहेक विदेशमा स्थायी बसोबास गर्ने अभिभावकका बालबालिकाबीच प्रतियोगीता भएको थियो ।

प्रतियोगीतामा २९ देशका ६१ जना प्रतियोगी सहभागि थिए । ‘राष्ट्रको लागि मेरो सपना’ शीर्षकमा नेपाली र अंग्रेजी दुवै भाषामा प्रतियोगीता गरिएको थियो ।

‘एनआरएनए ग्लोबल स्पीच कन्टेस्ट’मा म्यानमारबाट प्रतिनिधित्व गरेकी अभिलाषा खतिवडा प्रथम भएकी छन् । उनले एक लाख नगद सहित प्रमाणपत्र प्राप्त गरेकी छन ।

त्यस्तै, रसियाबाट प्रतिनिधित्व गरेकी समरिया केसी दोस्रो र यूकेबाट प्रतिनिधित्व गरेकी टिया आचार्यले तेस्रो स्थान हाँसिल गरे । केसीले ६० हजार र आचार्यले ४० हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरे ।

त्यस्तैगरी, अस्ट्रियाबाट प्रतिनिधित्व गर्ने कुञ्जन बोहरालले ‘राइजिङ स्टार’ र १३ वर्षभन्दा मुनीका ‘लिटल मास्टर’ को टाइटल अस्ट्रियाकै दिव्या ढकालले प्राप्त गर्न सफल भए । उनीहरु दुवैले तीस /तीस हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन ।

त्यस्तै, नाइजेरियाका सुहिम थापा र साउदी अरवबाट प्रतिनिधित्व गरेका जस्मिन सायदले चौथो स्थान हासिल गर्न सफल भए । थाइल्याण्डबाट प्रतिनिधित्व गर्ने दंग तिमिल्सीनाले पाँचौ स्थान हासिल गरे । सान्त्वना हुने सुहिम, जस्मिन र दंग तीनै जनाले बीस/बीस हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन ।

गैरआवासिय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजना, एनआरएन एसिया प्याशिफिक तथा एसिया प्याशिफिकका सबै एनसिसीको सक्रियतामा सम्पन्न प्रतियोगितामा अमेरिका, यूके, अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, युएई , अष्ट्रीया, आयरल्याण्ड र स्कटल्याण्डबाट प्रतिनिधित्व रहेको थियो ।

प्रतियोगितामा हाँस्यकलाकार सन्दिप क्षेत्री, साहित्यकार प्रकाश सायमी, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ र सञ्चारकर्मी समा थापा निर्णयक मण्डलमा रहेका थिए । यस्तै, कार्यक्रममा संचारकर्मीहरु भूषण दाहाल र रवि लामिछाने विशेष अतिथिको रुपमा सहभागीता जनाएका थिए ।

कार्यक्रम एनआरएनए केन्द्रीय कार्यालय बालुवाटार र जापानको टोकियोस्थित एक हलबाट एकसाथ प्रत्यक्ष प्रसार गरिएको थियो ।
प्रतियोगताका विजेतालाई सम्बन्धित एनसिसीमार्फत एक कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरिने कार्यक्रम तथा एसिया प्याशिफिक युवा कमिटीका संयोजक दीपक कँडेलले जानकारी दिएका छन् ।