विमल गुरुङ स्मृति पुस्तकालयले आयोजना गरेको ३२ औं राष्ट्रिय कविता महोत्सव २०८० मा प्रथम पुरस्कार प्राप्त कवि भीम विरही राईले आफू पढेको विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

विरहीले २००७ पछि भोजपुरमा स्थापना भएका तीन विद्यालयमध्ये हतुवागढी गाउँपालिका स्थित प्रजातन्त्र माध्यमिक विद्यालयलाई नगद २५ हजार सहयोग उपलब्ध गराउने जानकारी दिए । उक्त विद्यालयमा उनले २०३६ सालमा पहिलोपटक एनफेन कक्षामा भर्ना लिएका थिए ।

राष्ट्रिय कविता महोत्सवमा ‘म मरूँ या मेरो देश ?’ शीर्षकको कविता वाचन गरेर उनले उत्कृष्ट स्थान हात पार्दै नगद २१ हजार पुरस्कार जितेका थिए ।  हाल विद्यालयमा भाैतिक संरचनाहरु बन्दै‌छन् । विद्यालयलाई केही  मद्दत पुगाेस् भनेर सहयाेग गरेकाे उनले जानकारी दिए ।

उक्त रकम तिहारपछि माता दिलकुमारी राईको हातबाट विद्यालयलाई हस्तान्तरण गर्ने विद्यालयका प्रधानाध्यापक खिन्द्रमान राईसँग सहमति भएको उनले बताएका छन् ।

भारतीय सेनामा लामो सयम कार्यरत राई सेनामा हुँदाबाटै नेपाली साहित्यमा योगदान पुर्याउँदै आएका छन् । अन्तर्राष्ट्रिय परदेशी साहित्य समूह स्थापना गरेर उनीसहितको टिमले सेनामा हुदाँदेखि नेपाली साहित्यमा योगदान दिँदै आएकाे छ ।