धन्यवाद प्रकाश सर । कार्यक्रम अनौपचारिक रूपमै पनि औपचारिक जस्तो लागिरहेको छ । यहाँ हामी आदरणीय सञ्चारकर्मी एवम् साहित्यकार दाहाल यज्ञनिधिका चिन्तनका एक दर्जन अनुयायीहरू भेला भएर उहाँलाई सम्झिरहेका छौँ । सुधा म्याम, कृष्ण सुवेदी सर, चेतनाथ धमला सर, निलम कार्की निहारिकाज्यू, यशोदा अधिकारीज्यू । यहाँ उपस्थित सबै अग्रज, सहकर्मी र सहभागीहरूमा अभिवादन ।
आज हामी दाहाल यज्ञनिधिलाई सम्झिएर मौनधारण गरिरहेका छौँ । उहाँका स्मृतिका विविध पक्षलाई बाहिर ल्याइरहेका छौँ । यो उहाँकै कर्मको, सिर्जनाको,साधनाको र समर्पणको देन हो । मलाई उहाँका विषयमा बोल्न भनिएको छ । हामी सबै उहाँलाई बुझ्ने मानिस नै उपस्थित छौँ उहाँको जन्म २०१० साल साउन ४ गते, बिहीवाबर तत्कालीन खाल्ले–८, धारापानी, खोटाङ, सगरमाथा अञ्चलमा भएको हो । उहाँको जीवन छोटो रह्यो तर सार्थक रह्यो । उहाँले पैसठ्ठी वर्षको आयु गुनासो गर्नुपर्ने ठाउँ नराखी बिताउनु भयो । हामीले उहाँबाट जति असी नब्बे सय जति बर्षसम्म उहाँको मार्गदर्शन, आशीर्वाद पाउन सक्थ्यौँ त्यो पाएनौँ । हामीले पनि जीवन बाँच्दा त्यस्तै जीवन बाँच्ने प्रयत्न गर्ने हो । उहाँ नेपाली समाजका धेरैका अभिप्रेरक रोलमोडल व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका कक्षामा नपढे पनि उहाँ हाम्रो गुरु हुनुहुन्थ्यो । सर्वप्रथम त म उहाँप्रति मेरो व्यक्तिगत तर्फबाट र दाहाल यज्ञनिधि स्मृति सभाका पक्षबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
उहाँ नेपाली समाजको एउटा विद्रोही परिवर्तन पक्षधर व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले संस्कृत पढ्नु भयो तर कर्मकाण्डको विश्वास गर्नुभएन । उहाँलाई मानंच दुर्योधने भनेर दिइने आशीर्वादहरूको पनि उति विश्वास थिएन । आफ्नी बहिनीको स्मृतिमा तिहारलाई पनि एक किसिम स्थगनको चाड बनाउनुभयो । उहाँ भन्नुुहुन्थ्यो गरिब बुढाबुढीको गाँस खोसेर दक्षिणा दिइने र भोकाहरूको गाँस खोसेर निधार रंग्याइने दशैँ म किन मानिरहूँ । मेरी बहिनीको मृत्युको न्याय पाउन नसकिने तिहार म किन मानिरहूँ । यासे भने पनि उहाँ परिवारका सदस्यहरूसँग भेला हुने पर्वअनुसारको रमाइलो गर्ने क्रममा कति पनि कमी हुन दिनुहुन्न थियो । उहाँ आफ्ना पिता तारानाथ दाहालदेखिको पैतृक रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँले आफ्नै शरीर र रोगका माध्यमबाट पनि नेपाली समाजमा चेतना फैल्याउने प्रयास गर्नुभएको छ । उहाँले दोस्रो पटक मृगौला प्रत्यारोपण गर्ने प्रयास गर्नुभएन । त्यसमा देशमै मृगौला प्रत्यारोपण गर्न पाउनुपर्छ भन्ने विद्रोहलाई वा मागलाई अगाडि सार्नुभएको थियो । राज्यले त्यो कानुन अझै पनि पूर्णतः लागू गरिसकेको छैन ।
उहाँले मानव शरीर जलाएर वा गाडेर नष्ट गर्नुभन्दा शरीर दान दिनुपर्छ भन्ने चेतनालाई जीवनकालमा व्यक्त गर्नुभयो र त्यही विचारका आधारमा उहाँको शव हामीले टिचिङ हस्पिटललाई दान गर्न सफल भयौँ । यो चेतना पनि नेपाली समाजको चेतना भन्दा अग्रगामी चेतना थियो ।
दाहाल परिवारभित्रका पनि समाजका पनि र राज्यका पनि विविध पक्षमा विद्रोही हुनुहुन्थ्यो । उहाँका कतिपय विद्रोहका पक्ष आफ्नै माता कृष्णाकुमारी दाहालसँग पनि देखिन्थे तर बाँचुन्जेल आमाको रेखदेख गर्ने र आमालाई सबभन्दा बढी आदर गर्ने छोरो उहाँ नै हुनुहुन्थ्यो । उहाँ जति विद्रोही हुनुहुन्थ्यो व्यवहारिक जीवनमा त्यति नै कोमल, हार्दिक र मायालु हुनुहुन्थ्यो । उहाँको विवाह सुधा आचार्य (दाहाल) सँग भयो । उहाँहरू २०३७ असार १० गते विवाह बन्धनमा बाँधिएर सहकार्य र सम्झौतामा जीवन बिताउनु भयो । उहाँहरूबिच खटपटको अवस्था कहिल्यै आएन । उहाँका भतिजा भतिजीहरूले पनि उहाँबाट बुबाबाट पाउने भन्दा कम माया पाएनन् सायद ।
मलाई हिजो प्रकाशजीले पाँच सात मिनेटमा कुरा राख्ने भन्नुभएको छ । त्यसरी पाँच सात मिनेटमा बाँध्न सकिने व्यक्ति उहाँ होइन तर म केही उहाँका सम्झनै पर्ने पक्षलाई यहाँ राख्ने प्रयत्न गर्दैछु । उहाँ साहित्यकार हो । उहाँ सञ्चारकर्मी हो । यो विषयमा सबैलाई थाहा छ । हामी उहाँको साहित्यिक योगदानबाट परिचित छौँ । उहाँ निबन्धकार हुनुहुन्छ । उहाँ कवि हुनुहुन्छ , उहाँ गीतकार हुनुहुन्छ, उहाँ आवाजका वादशाह हुनुहुन्थ्यो भन्ने हामी सबैलाई थाहा छ । म यी सबैले थाहा पाएका भन्दा अलि फरक पक्षलाई मात्र आज उजागर गर्दैछु ।
उहाँको मूल योगदान रेडियो नेपालको साहित्यिक कार्यक्रमसँग जोडिएको छ । हामी साहित्य संसारका माध्यमबाट उहाँलाई सम्झन्छौँ । उहाँका माध्यमबाट नेपाली साहित्यमा पुगेको योगदानलाई मैले उहाँको विषयमा लेखेको पुस्तकमा मदन पुरस्कार स्थापना र मदन पुरस्कार पुस्तकालय स्थापनाबाट कमल दीक्षितको योगदान र त्रिभुवन विश्वाविद्यालयको नेपाली विभागमार्फत वासुदेव त्रिपाठीले पुर्याएको योगदानसँग तुल्य रहेको पक्ष उठाएको थिएँ । आज पनि त्यस मूल्यांकनलाई मैले यथावत राखेको छु । उहाँका माध्यमबाट धेरै स्रष्टाको पहिलो रचना सार्वजनिक भएको पक्ष हामीले बिर्सनुहुँदैन । मायाठकुरीलगायत पहिलोपुस्ताका धेरै लेखकले उहाँले रेडियो नेपालमा रचना वाचन गरेर र त्यसको पारिश्रमिक दिएर सहयोग गरेको पक्षलाई सार्वजनिक ठाउँहरूमा बोल्नुभएको छ । उहाँले नेपाली शुद्ध उचारण, ठेट उच्चारण र यसको ओजपूर्ण उच्चारणका माध्यमबाट र वास्तविक स्रष्टाहरूको उजागरबाट नेपाली साहित्यलाई अग्रगामी मार्ग प्रशस्त गर्नुभएको छ ।
रेडियोनेपालसँग जोडेर उहाँलाई सम्झने अर्को कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा हो । त्यस कार्यक्रमबाट उहाँले धेरै नेपाली मौलिक संस्कृति, परम्परा र मूलतः नेपाली लोकसंस्कृतिका नेपाली लोकवार्ताका बहुमुखी पक्षहरू उजागर गर्नुभएको छ । ती सामग्रीहरूलाई प्रकाशन गर्न सक्ने हो भने उहाँ प्रायः लोकसंस्कृति र लोकसाहित्यका अध्ययनहरूका आधार सामग्री बन्न सक्ने पक्ष पनि छ । उहाँ नेपाली लोकसांस्कृतिक संरक्षक संबद्र्धक र प्रशारक पनि हुनुहुन्थ्यो ।
नेपाली मौलिक दर्शनहरूको प्रतिपादन र तिनको विकासमा पनि दाहालको योगदान छ । उहाँले नेपाली समाजमा कथित दलित मनिने गरेका जातले कथित उच्च जात र वर्गलाई अभिवादनका क्रममा भन्ने गरेको जदौ शब्दलाई नेपाली सञ्चार माध्यममा प्रवेश गराई समान आदरको चिन्तनलाई अगाडि सार्नुभयो । उहाँले वर्णव्यवस्था अनुसारको आदरार्थीहरूको विनिर्माण गरी समतामूलक समाज निर्माणका पक्षमा आवाज उगाउनुभयो । यस आधारमा उहाँलाई नेपाली नव दार्शनिकहरूले पनि बिर्सन मिल्दैन ।
दाहाल यज्ञनितिको शैक्षिक योगदानको पाटो पनि छँदैछ । उहाँले कक्षामा पढाएका विद्यार्थीहरूले आज गरेको उन्नति र उहाँका माध्यमबाट समाजमा फैल्याएको चेतनाको पाटो छँदैछ । उहाँले शित्तला मा.वि. (हाल) खोटाङबाहेक पूर्वमध्यमासम्म चन्द्र संस्कृत विद्यालय, धरानमा र साहित्यशास्त्री वाल्मीकि विद्यापीठ, काठमाडौँबाट गर्नुभयो । उहाँले संस्कृत पृष्ठभूमिबाटै पढे पनि उहाँमा संस्कृतका कर्मकाण्डीय एवम् पाष्ण्त्यिपूर्ण जीवनशेली र पद्धतिप्रति आस्था रहेन । उहाँ आधुनिक वैज्ञानिक चिन्तनअनुसार चल्ने प्रतिभाका रूपमा देखिनुभयो । उहाँले शिक्षण पेसालाई पनि त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्री बनेर मनोवैज्ञानिक र वैज्ञानिक चेतनासम्पन्न शिक्षकका रूपमा यो । उहाँको जीवनको अधिकांश समय निष्ठापूर्वक भानु माध्यमिक विद्यालय, काठमाडौँमा शिक्षण सेवा गरेर बित्यो । त्यो विद्यालय पुरानो दरवार हाइस्कुल हो । त्यस विद्यालयको विकासमा पनि उहाँको प्रत्यक्ष योगदान छ ।
सञ्चार सेवा कै कुरा गर्दा उहाँले रेडियो नेपाल र एचवीसी एफ.एम. रेडियो अन्नपूर्ण नेपाल जस्ता रेडियोबाट गरेको योगदान र प्रतिभा उजागर र साहित्यका बहुमुखी पाटाको जति कुरा गरे पनि गर्न सकिन्छ । त्यसका साथै उहाँले उन्नयन त्रैमासिक पत्रिकाबाट पुर्याएको साहित्यिक पत्रकारिता क्षेत्रको योगदानलाई पनि बिर्सन सकिँदैन । उहाँ जागार्जुनलगायत विभिन्न पत्रिकाका सम्पादन सल्लाहकार हुनुहुन्थ्यो त्यस पाटोलाई पनि हामीले बिर्सनु हुँदैन । उहाँ संलग्न पत्रिकाका सम्बन्धित अंक पल्टायो भने उहाँका योगदानका विविध पक्ष बाहिर ल्याउन सकिने अवस्था छ ।
उहाँको राजनीतिक र साङ्गठानिक योगदानलाई पनि हामीले बिर्सनु हुँदैन । उहाँले राजनीतिसापेक्ष गरेको समाजसेवाको पक्ष पनिछँदैछ ।
राजनीतिक निरपेक्ष रूपमा गरेको सामाजिक सेवाका बहुमुखी पक्षहरू पनि स्मरणीय छन् । उहाँले विद्यार्थी छँदै वैदिक छात्र पुस्तकालयमा बसेर काम गर्नुभयो । संस्कृत छात्रावास सञ्चालक समितिमा रहेर काम गर्नुभयो । अनामनगर सेवा समाजमा रहेर काम गर्नुभयो । त्यस अनाम नगर क्षेत्रको नामकरण पनि उहाँले नै गरेको पक्ष पनि छ । उहाँ स्वास्थ्यका कारण अलि एकान्त ठाउँमा बस्ने गरी बरफेदी पुगेपछि बरफेदी उपभोक्ता समितिमा रहेर पनि काम गर्नुभएको छ । सामाजिक विकास समाज अनामनगरमा रहेर पनि काम गर्नुभएको छ । उहाँले अहिले क्रियाशील साहित्यिक पत्रकार संघमा रहेर पनि काम गर्नुभएको छ । यस संस्थाको प्रतिनिधि चेतनाथ धमला यहाँ उपस्थित हुनुहुन्छ । उहाँले नागार्जुन साहित्यिक प्रतिष्ठान, रावासावा प्राज्ञिक समाजजस्ता समाजमा रहेर र यी संस्थालाई आफ्नै घरमा संरक्षण दिएर पुर्याएको योगदान पनि उल्लेख्य छ । आज उहाँका स्मृतिमा यी सबै संस्थाले स्मृतिसभा गर्दा हुन्छ । रेडियो नेपाल, रेडियो अन्नपूर्ण आदिले पनि स्मृति सभा गर्दा हुन्छ । उहाँ यी संस्थाका उद्देश्य अनुसार र सिंगो नेपालको लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनसम्बद्ध संस्थाहरूले सम्झनुपर्ने व्यक्तित्व हो । नेपालले गणतन्त्र स्थापनामा पदक बाँड्ने पर्वमा पनि निस्वार्थ रूपमा सम्झँदा हुने पात्र हो उहाँ ।
उहाँका कविता, गीत, निबन्ध, संस्मरण पढ्दा तिनमा उहाँको जीवनको चोखो चेतना पाइन्छ । उहाँले जस्तो जीवन बाँच्नुभयो त्यस्तै सिर्जना गर्नुभएको छ । उहाँले कसैलाई रुझाउन वा खुसी पार्न नभई नेपालीका कथाव्यथा र समस्याका पक्षमा कलम चलाउनुभयो । उहाँले सममन पुरस्कार, अभिनन्दन आदिलाई त्यति महत्व दिनुभएन । यद्यपि जीवनकालमा राष्ट्रिय कविता महोत्सवमा दुई पटक पुरस्कृत हुनुभयो (द्वितीय (२०३५) र तृतीय(२०३७)) । उहाँ दाहाल प्रतिष्ठानद्वारा जानकी वल्लभ सम्मान, बुद्ध शान्ति फाउन्डेसनलगायत विविध संस्थाबाट सम्मान तथा पुरस्कार पाउनुभयो तर त्यो पैसा आफूसँग राख्नुभएन समस्यामा परेका अपाङ्ग र सीमान्तकृत समुदायका मानिसहरूलाई बाँडिदिनुभयो । हामीले एक पटक उहाँको अभिनन्दन गर्छौ भन्दा उहाँले मेरो अभिनन्दन गरेर के फाइदा भनेर एक पटक त्यसै तर्काउन खोज्नुभयो । सामूहिक रूपमा यहाँको जीजीविषा बढाउन मात्र खोजेका हौँ भनेपछि स्वीकार गर्नु भयो । कार्यक्रम तय भयो । अन्तिममा प्रमुख अतिथि को बनाउने भन्ने कुरा भयो । साथीहरू मन्त्री, संसद्, कुलपति केके भन्दै हुनुहुन्थ्यो उहाँले कोही दलित समुदायबाट एम ए पिएच.डी गरेकी नारीका हातबाट गराउनु भन्नुभयो । आज राजनीतिक परिवर्तनले जन्माएका धर्मनिरपेक्षता, समावेशीकरण, लैड्गिक समानता, मानवताका बहुआयामका सबै चेतनाहरू उहाँसँग थिए र तिनको विकासमा लागिपर्न व्यवहारतः लागिपर्नु भएको थियो । हामीले उहाँले खोजे जस्तै पात्र नन्दमाया नकर्मी हुन सक्ने ठानेर खोजी गरेका थियौँ । उहाँ त्यस बेला नेपालमा हुनुहुन्न रहेछ । पछि नारी प्रतिभा माया ठकुरीलाई प्रमुख अथिति बनायौँ । त्यस समारोहमा तत्कालीन एकेडेमीका कुलपति बैरागी काइँला र अरु प्राज्ञहरू अतिथि भएर उपस्थित हुनुभयो । उहाँले सत्ताको, शक्तिको अहंकारलाई महत्व दिनुभएन सबैप्रति समान दृष्टि राख्नुभयो ।
रेडियो नेपालमा त्यहाँका हाकिमहरू रानीका कविता लिएर आएर आज वाचन हुनै पर्छ भन्थे अरे । दरबार र मन्त्रीका शक्तिका कविता लिएर आउँथे अरे । उहाँ ती कवितालाई फायलमुनि हाल्दै हाल्दै गायव बनाइदिनुहुन्थ्योरे । यस समबन्धमा उहाँका विषयमा मभन्दा निलम कार्कीज्यू जनकार हुनुहुन्छ । उहाँले पदका कवि कवयित्रीलाई भन्दा प्रतिभा भएको कविकवयित्रीलाई महत्व दिनुभयो ।
उहाँ काङ्ग्रेसभित्रको माक्र्सवादी वक्ता र लेखक हुनुहुन्थ्यो । मसिनो गरी हेर्दा वी.पीले विकास गरेको प्रजातान्त्रिक समाजवादको मूल आधार पनि माक्र्सवाद नै देखिन्छ । उहाँका रचनामा सीमान्तकृत समुदाय छ र वर्ग पनि केन्द्रमा छ । यो पक्षले उहाँलाई सबै लोकतान्त्रिक प्रजातान्त्रिक शक्तिहरू एक ठाउँमा उभिएर मात्र सामन्तवादको जरो फाल्न सकिन्छ भन्ने चेतनाका वहाकका रूपमा पनि हामी सम्झन सक्छौँ । आज कम्युनिस्टहरू एक ठाउँमा उभिने चेतना, कांग्रेसमा अरु प्रजातान्त्रिक सक्ति ध्रुवीकरण हुने चेतना पनि यही चेतना हो । उहाँ नेपाली सांस्कृतिक रूपान्तरणका अगुवा व्यक्तित्व हुनुहुन्थ्यो ।
उहाँले पढाइका क्रममा विश्वविद्यालय टेक्नुभएन, स्नातकोत्तर गर्नुभएन तर उहाँ समकालीन स्नतकोत्तर र विद्यावारिधिभन्दा चेतनामा अगाडि हुनुहुन्थ्यो । उहाँले गणतात्रिक सांस्कृतिक आन्दोलनमा अग्र मोर्चामा उभिएर नेपाली चेतनाको विस्तारमा विश्वाविद्यालयका प्राङ्गणमा गएर गरेको भाषण मेरो स्मृतिमा ताजा छ । यही नागार्जुन प्रतिष्ठानलाई पनि गणतन्त्रपूर्व नै गणतन्त्रको मुद्दालाई मूल मुद्दा बनाउन अभिप्रेरित गर्ने व्यक्ति उहाँ नै हुनुहुन्थ्यो । उहाँले लोक्तान्त्रिक स्रष्टाहरूका आन्दोलनमा अग्रमोर्चामा रहेर सघाउनुभयो । उहाँ काड्ग्रेसकै सत्ता हुँदा पनि त्यसको प्रतिपक्ष जस्तो हुनुहुन्थ्यो । स्रष्टा र सञ्चारकर्मी वा चेतना जगन् राज्यको प्रतिपक्षमा हुन्छ भन्ने पक्षलाई उहाँले व्यवहारतः पुष्टि गर्नुभएको थियो ।
अब उहाँलाई कसरी सम्झने त ? उहाँलाई कसरी सम्झने भन्ने विषयमा हामीले परिवारसँग बसेर थुप्रै छलफल गरेका छौँ । मैले सुधा गुरुआमालाई उहाँको पुस्तकालयलाई सुरक्षित राख्न आग्रह गरेको छु । त्यहाँ महत्त्वपूर्ण कृति र चिठीपत्रहरू रहेका छन् । ती सामग्रीलाई उहाँ बसेको टोलमा वा उहाँको जन्मभूमिमा कतै पुस्तकालयका रूपमा स्थापना गर्न सकिने सम्भावना पनि छँदैछ ।
दाहाललाई पुरस्कार र सम्मानमा उति विश्वास थिएन । उहाँले आफ्नो सम्मान र पुरस्कारका लागि कुनै प्रयत्न, आशा केही लिनुभएन । उहाँले नमान्दा नमान्दै भानु प्रतिष्ठानले उहाँलाई रथारोहण गरायो । उहाँले त्यो स्वीकार यस यर्थमा गर्नुभयो कि उहाँ भानुभक्त मार्गकै अनुयायी हुनुहुन्थ्यो । उहाँले पञ्चायती कालमा कुनै विदेशी सपनामा विकेर नोपाली राष्ट्रभाषा भंग हुन लागेका बेला मुद्दा खेलेर नेपालको राष्ट्र भाषा वा साझा भाषा नेपाली हो भन्ने पक्षलाई कानुनतः हक दिलाउनुभएको थियो । उहाँ नेपाली भाषा बचाऊ अभियानका पनि अगुवा कानुनतः विशिष्ट योद्धा पनि हुनुहुन्थ्यो । उहाँ नेपाल एकीकरण परम्परामा भाषाका माध्यमबाट उभिने मान्छे पनि हो । यी पक्षलाई सम्झने अनेक आधार हुन सक्छन् । परिवारसँग सरसल्लाह पनि भइरहेको छ । हामीले अलि अफ्ठारोमा परेका, अपाङ्ग, उपचारको समस्यामा परेका वा यस्तै सीमातकृत एक पुरुष र एक नारीलाई सहयोग स्वरूप उहाँको स्मृति दिवसमा सम्मान गर्ने चलन बसाएका छौँ । यस वर्ष हामीले वी.के पाल्पाली, सरिता कोइराला र सीता सिंखडालाई सम्मान गर्यौँ । उहाँका दुई वटा कृति प्रकाशनमा ल्याउने पहल गर्यौँ । कवितासंग्रह तयार भएर रहेको छ । एउटा गीति एल्बम निकाल्यौँ । अब स्मृति ग्रन्थको सूचना सञ्चार भइसकेको छ । त्यसका लागि केही सामग्री प्राप्त पनि भएका छन् ।
हामीले त्यसलाई पूर्ण बनाउन यहाँहरूको सबैको सहयोगको आवश्यक छ । कुनै संस्मरण, लेख रचना भए उपलब्ध गराइदिनुहोला । उहाँका नाममा हामी निस्वाार्थ भएर उहाँका विचारलाई र आदर्शलाई जोगाउने जे जे काम गर्न सक्छौँ ती ती काममा उहाँको सम्मान हुनेछ । उहाँ सम्माननीय, आदरणीय र अभिप्रेरक अग्रज हुनुहुन्छ । उहाँले समाजका पुरातन मन्थी चिन्तनमाथि सोझो प्रहार गरे पनि वैज्ञानिक आधार लिएर मात्र प्रहार गर्नुभएको छ । त्यस्ता सांस्कृतिक अगुवालाई जदौ गर्ने अनेक आधार हुन सक्छन् । अहिलेलाई उहाँप्रति अनेक सम्झना अनेक श्रद्धाञ्जली । यी शब्द राख्ने अवसरका लागि नागार्जुन प्रतिष्ठानलाई अनेक धन्यवाद ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।