दुई लाख नगद राशि भएको ‘कवि विमल गुरुङ कृति पुरस्कार–२०७९’ गोर्खाका कवि चन्द्र गुरुङकृत ‘जब एउटा मान्छे हराउँछ’ कवितासंग्रह र दार्जीलिङ मिरिकका विजय बान्तवा कैलाशीकृत ‘मित्याङ्सा’ गद्य कृतिलाई प्रदान गरिएको छ ।

विमल स्मृति पुस्तकालयले श्रष्टा गुरुङ र बान्तवालाई आइतबार स्वर्गीय गुरुङको ५२ औं जन्मजयन्ती तथा ३२ औं राष्ट्रिय कविता महोत्सवको अवसरमा पुस्तकालयले संयुक्त रुपमा प्रदान गरेको हो । नगद दुई लाखसहित ताम्रपत्र र दोसल्ला ओढाएर कृतिकारद्धयलाई वरिष्ठ साहित्यकार जसराज किराती, पुस्कालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङ, कोषाध्यक्ष तथा विमलका दिदी शान्ति, भाषाविद् प्राडा. टंकप्रसाद न्यौपाने र वरिष्ठ कवि बम देवानले पुरस्कार प्रदान गरेका थिए ।

कवि चन्द्रको कविता कृति जब एउटा मान्छे हराउँछ प्रकाशित भएको एकै वर्षमा तीन संस्करण, अंग्रेजी, नेपाली र दिल्लीबाट हिन्दीमा प्रकाशित भएको बोधगम्य कविताहरुको संग्रह हो । यस्तै, विजय बान्तवाले मित्याङ्सा गद्यकृति दार्जिलिङ क्षेत्रका नेपाली भाषीहरुले लामोसमयदेखि आफ्नो आस्तित्वका लागि राजनितिक, सामाजिक, भाषिक आन्दोलन गर्दा पाएको भोगाइलाई आख्यान शैलीमा लेखेका छन् ।

विमल कृति पुरस्कारका लागि १०१ जनाले कृति पठाएका थिए ।

सोही अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवमा सुनसरीका भीम विरही राईको ‘म पहिला मरुँ कि मेरो देश ?’ शीर्षको कविता प्रथम भएको थियो । काठमाडौँकी एलिसा एकलासको ‘बेवारिसे प्रश्न ले द्वितीय पुरस्कार पाएको थियो भने सिक्किम गान्तोककी सन्ध्या सिङ्जाङ्गो सुब्बाको कविता ‘अन्तिम लडाइँ’ तृतीय भएको थियो ।

विजेताहरुले क्रमशः नगद २१ हजार, १८ हजार र १५ हजारका साथमा प्रमाणपत्र प्राप्त गरेका थिए ।

कवितामा विजेताहरूमध्ये विरही भारतीय गोर्खा सैनिक सेवाबाट क्याप्टेनमा अवकास प्राप्त पूर्व गोर्खा सैनिकसमेत रहेका परदेशी साहित्य समूहमा आबद्ध छन् भने सिङ्जाङ्गो दिल्ली विश्वविद्यालयकी इतिहास र राजनितिशास्त्रकी अध्येता हुन् ।

कालेबुङका युवा कवित विशाल नाल्बोलाई कवि विमल गुरुङ युवा प्रतिभा सम्मानसहित नगद १० हजारले सम्मान गरिएको उक्त अवसरमा विमल गुरुङद्वारा लिखित कविताहरूको संगालो ‘सहरको प्रगाढ मौनता’ र ‘शब्दचित्रमा कवि विमल गुरुङ’ स्मारिका लोकापर्ण गरिएको थियो ।