नेपाली साहित्य समाज न्युजिल्यान्डले समाजका अध्यक्ष डा. वीरेन्द्र केसीलाई नेसास नेपाली साहित्य सृजना सम्मान २०२३ र वरिष्ठ सल्लाहकार श्रीधर बस्न्यातलाई नेसास नेपाली साहित्य सेवा सम्मान २०२३ बाट सम्मानित गरेको छ ।
न्युजिल्यान्डको अकल्यान्डमा सम्पन्न एक साहित्यिक कार्यक्रममा मूल्याङ्कन समितिका संयोजक उद्वव अधिकारी र सदस्य कमलप्रसाद श्रेष्ठले उक्त सम्मान प्रदान गर्नुभएको थियो ।
नेपाली साहित्य समाज न्युजिल्यान्डले नेपाली साहित्य सृजनामा अविछिन्न रूपमा योगदान पुर्याउँदै आउनुभएका स्रष्टा तथा साहित्यकारलाई उहाँहरुको योगदानको कदर गर्दै हरेक वर्ष “नेसास नेपाली साहित्य सृजना सम्मान” प्रदान गर्ने गर्दछ ।
त्यस्तै, नेपाली भाषा र साहित्यको प्रवर्धनमा योगदान पुर्याउँदै आउनु भएका व्यक्ति तथा संघसंस्थाहरुलाई हरेक वर्ष “नेसास नेपाली साहित्य सेवा सम्मान” प्रदान गर्ने गर्दछ ।
डा. वीरेन्द्र केसीका आमाको काखमा दुखेको देश र किवीको देशमा डाँफेको गुञ्जन गरी दुइटा कृति प्रकाशित छन भने जुनको रोटी प्रकाशनको अन्तिम चरणमा छ । श्रीधर बस्न्यातले थुप्रै कविता र लघुकथाहरु सृजना गर्नुभएको छ । उहाँ साहित्य समाजको स्थापनाकालदेखि नै निरन्तर सल्लाहकारको रुपमा रहेर नेपाली भाषा र साहित्यको प्रवर्धनमा विशिष्ट योगदान पुर्याउँदै आउनुभएको छ ।
सम्मानपछि कार्यक्रममा बोल्दै स्रष्टाद्वयले सम्मानित हुन पाउँदा गर्व महसुस भएको र थप लेखनका लागि हौसला मिलेको बताउनुभएको थियो ।
वरिष्ठ सल्लाहकार बाबुराजा महर्जनको संयोजन र सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा साठि जना नेपाली भाषा र साहित्य प्रेमी महानुभावहरुको उपस्थित थियो भने झन्डै बिस जना स्रष्टाहरुले रचना वाचन गर्नु भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।