
कथाकार कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ विमाेचन भएकाे छ । काठमाडौंमा आयोजित एक समारोहका बिच कथाकार तथा कवि अभय श्रेष्ठ, साहित्यकार नयनराज पाण्डे, निबन्धकार तथा समालाेचक कुमारी लामा, पत्रकार माेहराज शर्मा र लेखकका बुवा दीपकराज न्याैपानेले संयुक्त रूपमा ‘पार्श्वधुन’काे विमाेचन गरेका हुन् ।
साहित्यकार नयनराज पाण्डेले कुसुमका कथामा नौलोपन देखिएकाे भन्दै उनी भविष्यमा उम्दा कथाकार हुनसक्ने बताए । यसैगरी, कथाकार तथा कवि अभय श्रेष्ठले अलिक अगाडिबाट नै कुसुमले कथा लेख्दै आएकाे र अहिले आउँदा निकै माझिएकाे बताए ।
यस्तै, निबन्धकार तथा समालाेचक लामाले मानवीय संवेदनाका मसीनो पाटोलाई अन्त्यन्तै फरक ढंगले टिपेको अब्बल र माझिएको लेखाइ भनेकी थिइन् ।
पुस्तककाे मूल्य ३७५ रुपैयाँ राखिएकाे छ । यसअघि कुसुमको ‘अमृतको प्याला’ गजलसंग्रह, ‘अञ्जुलीमा अभियन्ता’ संयुक्त कविता संग्रह, ‘अञ्जुलीमा अभियन्ता- २’ संयुक्त गजल संग्रहलगायतका पुस्तक प्रकाशित छन् । उनले ‘परदेशका कथा’ कथासंग्रह र ‘आँगन छोडेपछि’ संस्मरण संग्रहको सम्पादनसमेत गरेका छन् ।
शिखा बुक्स काठमाडौंले प्रकाशन गरेको कथासंग्रहमा नेपाल र अमेरिकी परिवेशका तेह्र कथाहरू समावेश गरिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

