नेपाल बालसाहित्य समाज र नेपाल प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा चित्रकथा लेखनसम्बन्धी दुई दिने कार्यशाला सुरु भएको छ । नेपालका विभिन्न जातजाति, संस्कृति र भूगोलमा प्रचलित बालोपयोगी लोककथा, किंवदन्ती र ऐतिहासिक विषयलाई चित्रकथाका रूपमा प्रस्तुत गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो ।
कार्यशालामा विभिन्न जातजाति, संस्कृति र भूगोलको प्रतिनिधित्व गर्ने २९ जना बालसाहित्यकारहरूको सहभागिता रहेको छ ।
कार्यशालाको उद्घाटन गर्दै कुलपति भूपाल राईले बहुआयामिक संरचनासँग सम्बन्ध राख्ने सबैखाले वाङ्मयिक अभ्यास बालवयबाटै सुरु हुने बताउँदै बालबालिकालाई साहित्यसँग जोड्ने कुरामा बालसाहित्यको महत्त्वपूर्ण भूमिका हुने धारणा राखे । उनले अहिले हामीले पाठ्यक्रम र पाठ्यपुस्तकबाट बालबालिकालाई दिइरहेको शिक्षा देशअनुसार नभएकोले त्यसबारे गम्भीर छलफलको आवश्यकता भएको तथ्य औंल्याए ।
उनले प्रज्ञा-प्रतिष्ठान नेपाल बालसाहित्य समाजसँग लामो समयसम्म सहकार्य गरेर बालसाहित्य प्रवर्द्धनको कार्य गर्न दृढ भएको बताए ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमल निभाले नेपाली समाजमा प्रचलित कतिपय लोकरचनाहरू बालबालिकालाई उपयोगी हुने किसिमले लेख्नुपर्ने आवश्यकतामा जोड दिए ।
कार्यक्रमको अध्यक्षको आसनबाट नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले हाम्रो लोकसाहित्य र लोकसंस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि पनि बालसाहित्य उपयोगी माध्यम भएको बताए । कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले प्रज्ञा-प्रतिष्ठान र समाज मिलेर अन्य कार्य पनि गर्दै जाने जानकारी दिए ।
उद्घाटनपछिको सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यद्वय डा. मधुसूदन गिरी र हंसावती कुर्मीले लोकसाहित्यको महत्वका बारेमा र बालसाहित्यकार अनन्त वाग्लेले चित्रकथा लेखनका विविध पक्षबारे प्रकाश पारेका थिए । कार्यक्रमको संचालन नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले गरेका थिए ।
कार्यशालामा बालसाहित्यकारहरू सिर्जना शर्मा, सुशीला प्रधानाङ, कृष्णराज सर्वहारी, केशरी अम्गाई, केबी सिम्पल, विमला निरौला, शान्ति सापकोटा, डा. यादेवी ढकाल, मन्जु ज्ञवाली, माधव घिमिरे अटल, सजनी नौबागे, निर्मला बराल, उद्धवप्रसाद प्याकुरेल, कन्चना झा, विजेता चौधरी, नेत्र तामाङ, विश्व देवकोटा, समन श्रेष्ठ, तारावदन श्रेष्ठ, क्रान्ति पाण्डे, सविता ढकाल, सुशील पोखरेल, महेश आचार्य लगायतको सहभागिता रहेको छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।