साहित्यपोस्ट

पाँचथरका मुर्धन्य साहित्यकार (पर्यावरण साहित्यका अभियन्ता) अमर कुमार नेम्वाङको ७९ औं जन्मजयन्तीको अवसरमा तीन स्रष्टालाई सम्मान गरिएको छ । सम्मान प्राप्त गर्ने स्रष्टाहरुमा प्रा. डा. भीम खतिवडा, मधुराज केरुङ र मञ्जु नेम्वाङ रहेका छन् ।

अमर नेम्वाङ स्रष्टा पुरस्कार धरानका स्रष्टा प्रा. डा. खतिवडाले पाएका छन् । फाल्गुनन्द गाउँपालिकाद्वारा स्थापित उक्त पुरस्कार तथा सेहोनाम्लाङ साहित्य समाजको आयोजना र नौलो साहित्यिक बिहान समाज, पाँचथरको सहआयोजनामा रु. ५०,००० राशिको पुरस्कार प्रा. डा. खतिवडाले पाएका हुन् ।

त्यस्तै, ४०,००० राशिको युुवा स्रष्टा पुरस्कार पाँचथरका मधुराज केरुङ र रु. १०,००० राशिको नवप्रतिभा प्रोत्साहन पुरस्कार फाल्गुन्द गा.पा. २ कि मञ्जु नेम्वाङलाई प्रदान गरिएको छ ।

सेहोनाम्लाङ साहित्य समाजका अध्यक्षको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा लालीगुराँस नगरपालिका, तेह्रथुमका मेयर मुन्धुमविद् अर्जुनबाबु मावुहाङको प्रमुख आतिथ्य रहेको थियो ।

त्यस्तै, विशिष्ट अतिथिको रुपमा संविधानसभा सदस्य एवं पूर्वमन्त्री साहित्यकार श्रीप्रसाद जवेगु रहनुुभएको उक्त समारोहमा गाँउपालिका अध्यक्ष वीरबहादुर कुरुम्वाङ, उपाध्यक्ष देवित्राकुमारी आङ्देम्वे, प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्री, जनप्रतिनिधिहरु, पार्टी प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि र तेह्रथुम, सुनसरी, झापा, इलाम र पाँचथरका सर्जकहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त समारोहमा सहभागी स्रष्टाहरुले आफ्ना रचनाहरु वाचन समेत गरेका थिए ।