‘पुतली बाजे’का नामले परिचित कोलिन स्मिथको  पोखरामा निधन भएको छ । नेपालमा रहेर पुतलीको अध्ययन र संरक्षणमा योगदान दिएका बेलायती नागरिक स्मिथको ८७ वर्षको उमेरमा हरियोखर्क अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनी साढे २ वर्षयता पेटसम्बन्धी रोग ग्यास्ट्रोइनटेस्टनल स्ट्रोमल ट्युमरको उपचार गराइरहेका थिए । स्वास्थ्य बिग्रँदै गएपछि पोखराको हरियोखर्क अस्पतालमा भर्ना भएका थिए । उनको स्मरण शक्तिसमेत घटेको थियो ।

पोखराको पृथ्वीनारायण क्याम्पसमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले सञ्चालन गरिरहेको अन्नपूर्ण पुतली सङ्ग्रहालयका प्रमुख सुरेन्द्र परियारले स्मिथको अन्त्यष्टि सोमबार गरिने बताएका छन् ।

नेपालमा पाइने पुतलीहरूको अभिलेखीकरण गर्नेहरूमा उनको नाम सबैभन्दा पहिले रहेकाे छ । उनले पुतलीको खोजीमै ५० वर्ष बिताए  ।

वि.सं. २०२२ मा बेलायतबाट उनी नेपालमा आएका थिए  । युनिभर्सिटी अफ लन्डनबाट एमएस्सी सकेर त्यहीँको विश्वविद्यालय अध्यापन गराउने क्रममा उनी युनाइटेड मिसन टू नेपालमार्फत पढाउनका लागि भनेर आएका थिए  । गोरखाको अमरज्योतिमा पढाएका स्मिथमा एक विद्यार्थी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई समेत हुन् ।

स्मिथले डोरोथी मिरोकोसँग सहकार्य गरेर पुतली संग्रहालयका लागि पुतली सङ्कलन गरेका थिए । नेपालको प्राकृतिक विज्ञान सङ्ग्रहालयमा राखिएको पुतली उनले सङ्कलन गरेका हुन् । उक्त सङ्ग्रहालय स्थापनाका लागि उनले २५ हजारभन्दा बढी पुतली सङ्कलन गरिदिएका थिए । त्यहीबेला उनले मुलुकका ४० भन्दा बढी जिल्लाहरू घुमे र लामो समय पुतलीको अध्ययन र अनुसन्धानमै बिताए ।

जीवनको ऊर्जाशील समय नेपालमा खर्चेका स्मिथ नेपाली नागरिकता चाहन्थे । योगदानको कदर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले २०७६ मंसिर १६ मा मानार्थ नेपाली नागरिकता प्रदान गर्दा उनी औधी खुसी भएका थिए  ।

नेपाल सरकारले मानार्थ नागरिकता प्रदान गरेको उनी तेस्रो व्यक्ति हुन् । त्यसअघि अन्वेषक एवं भूगोलविद् टोनी हेगन र पर्वतारोही एडमन्ड हिलारीलाई नेपाल सरकारले मानार्थ नागरिकता दिएको थियो ।