नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले सात युवा कविहरूको समूह (पि सेभेन) को साहित्यिक योगदानको स्मरण गर्दै ‘त्वदीयं वस्तु गोविन्द, तुभ्यमेव समर्पणम्’ नामक साहित्यिक कार्यक्रम सञ्चालन गरेको छ।

विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’को अध्यक्षता तथा सात कवि समूहका सदस्यहरूको विशेष आतिथ्यमा बागबजार काठमाडौँस्थित युनिटी क्याफेमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा सात कवि समूहबाट कविहरू आर.एम. डङ्गोल, छविरमण सिलवाल,टङ्क उप्रेती, ठाकुर बेलवासे र प्रोल्लास सिन्धुलीय गरी पाँच जना कविहरूको उपस्थिति रहेको थियो। सात कवि समूहका बाँकी दुई सदस्यहरू- गोविन्द नेपाल र मणि लोहनी भने कार्यव्यस्तताका कारण अनुपस्थित रहेका थिए।

सो समारोहमा आयोजक संस्था विद्युतकर्मी साहित्यिक समाज (सातौँ कार्यसमिति)बाट सहभागी भएका सात जना पदाधिकारीहरूले अतिथि कविहरू सामु सात कविका एक-एक वटा कविताहरू वाचन गरेका थिए ।

यसै सिलसिलामा विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ले प्रोल्लास सिन्धुलीयको कविता वाचन गरेका थिए भने उपाध्यक्ष शारदा भट्टराई पोखरेलले छविरमण सिलवाल, सचिव विष्णु आचार्य ‘अतृप्त’ ले टङ्क उप्रेती, कोषाध्यक्ष मुकुन्द प्रसाद प्रसाईंले आर.एम. डङ्गोल र मणि लोहनी, सदस्य बलराम पुडासैनीले गोविन्द नेपाल तथा सदस्य सङ्गीता अधिकारी (पौडेल)ले ठाकुर बेलबासेका कविताहरू वाचन गरेका थिए।

परिचय आदानप्रदान र चाडपर्व विशेष शुभकामना आदानप्रदान गर्दै प्रारम्भ भएको सो कार्यक्रममा पि सेभेन समूहबाट उपस्थित पाँच जना कविहरूले आफ्ना एक-एक कविता वाचन गरेर काव्यिक माहोल तताएका थिए।

उक्त कार्यक्रममा मन्तव्य राख्दै सात कवि मध्येका एक कवि आर.एम. डङ्गोलले विद्युतकर्मी साहित्यिक समाजले सात कविलाई आमन्त्रण गरी कविता सुन्ने र सुनाउने कार्यक्रम राखेकोमा प्रसन्नता जाहेर गर्नुका साथै कार्यक्रमले पि सेभेनलाई अझै जिम्मेवार र सशक्त ढङ्गले कविता सिर्जना, अध्ययन र अनुसन्धानको सामूहिक अभियानलाई बढावा दिन झक्झक्याएको धारणा राखेका थिए। उनले भौतिक र भावात्मक दुवै बिजुली उत्पादमा नेपाल विद्युत प्राधिकरण उत्तिकै सक्रिय रही नमुना पेश गर्न सफल भएको विचार समेत प्रकट गरेका थिए।

सो समारोहमा कार्यक्रम आयोजनाको औचित्य पुष्टि गर्दै विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ले ‘तिम्रो वस्तु तिमीलाई नै समर्पण गर्दछौँ’ भन्ने आशय सहित ‘त्वदीयं वस्तु गोविन्द, तुभ्यमेव समर्पणम्’ नामक साहित्यिक अभियान सुरु गरिएको बताए। उनले विगतमा यो अभियान आदिकवि भानुभक्त आचार्य, महामानव विश्वेश्वरप्रसाद कोइराला र साहित्यकार विष्णुबहादुर सिंहको साहित्यिक योगदानलाई स्मरण गर्दै सम्पन्न भइसकेको सन्दर्भ प्रस्तुत गर्दै सोही श्रृङ्खलाको चौथो संस्करणका रूपमा सात कविहरूको साहित्यिक योगदानलाई स्मरण गरिएको विचार व्यक्त गरेका थिए।

सात कविको समूह कविता विधाको उन्नयनमा करिब तीन दशक अघिदेखि सक्रिय रहँदै आएको, सात कविहरूको सामूहिक उपलब्धिका रुपमा ‘यतैकतै’ कविता सङ्ग्रह(२०७७) सार्वजनिक भएको र यो समूहले विचार र कलाको आनुपातिक सन्तुलन मिलाएर युगीन सन्दर्भहरूलाई सम्बोधन गर्न सक्ने शक्तिशाली कविता रचना गर्दै आएकोले यस पटकको संस्करणमा सात कविहरूलाई आमन्त्रण गरिएको समाजका सचिव विष्णु आचार्य ‘अतृप्त’ ले जानकारी दिए।

करिब २ घन्टासम्म सन्चालन भएको सो कार्यक्रमको सहजीकरण विद्युतकर्मी साहित्यिक समाजका सचिव विष्णु आचार्य ‘अतृप्त’ ले गरेका थिए।