झापाको बिर्तामोडमा हुँदै आएको “UNPLUGGED वाचन”को चौथो शृङ्खलामा चार जना स्रष्टाको विशेष प्रस्तुति रहनेभएको छ । कार्यक्रममा कविद्वय सयपत्री थुलुङ र डिजी शर्मा तथा गाजलकारद्वय सजना वाइबा सन्ध्या र हेमन्ता भण्डारी रहने हुनुभएको हो ।
UNPLUGGED वाचनले आयोजना गर्दै आएको कार्यक्रम कार्तिक २२ गते (8th November) बुधबार हुनेभएको छ ।
कार्यक्रम बिर्तामोडको शनिश्चरे रोडस्थित हाम्रो मण्डला होटल रेस्टुरेन्ट एण्ड बारमा दिउँसो एक बजेबाट सुरु हुने कार्यक्रम संयोजक तथा गजलकार सुनिता तामाङले जानकारी गराउनुभयो ।
अध्ययनको सिलसिलामा पछिल्लो केही वर्षदेखि जापान बस्दै आउनुभएकी कवि सयपत्री थुलुङको स्थायी बसोबास सङ्खुवासभा हो । कवितासँगै गजल र मुक्तकमा पनि कलम चलाउनु हुने थुलुङको पहिलो कृतिको रुपमा “शान्तिको फूल” गजल सङ्ग्रह (२०७०) प्रकाशित छ । त्यसैगरी, “गाउँ फर्किरहेको परदेशी” कवितासङ्ग्रह प्रकाशोन्मुख अवस्थामा छ ।
त्यसैगरी, रोजगारीको सिलसिलामा लामो समयदेखि युएई रहँदै आउनुभएका कवि डिजी शर्मा झापा निवासी हुनुहुन्छ । उहाँ साहित्यपोस्टका युरोप संयोजक हुनुहुन्छ । विभिन्न साहित्यिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका कवि शर्मा साहित्यपोस्टको फेसबुक पेजबाट प्रसारण हुँदै आएको साहित्यिक अन्तर्वार्तामूलक कार्यक्रम “साहित्यवार्ता स्रष्टा र सिर्जना” का प्रस्तोतासमेत हुनुहुन्छ ।
रामेछाप निवासी गजलकार सजना वाइबा सन्ध्या अध्ययनको सिलसिलामा काठमाडौँ बस्दै आउनुभएको छ । सानैबाट लेखनमा रुची राख्नुहुने गजलकार वाइबा आजिसाई नेपाल एजुकेश्नल फाउन्डेसनकी कार्यकारी निर्देशक हुनुहुन्छ ।
लामो समयदेखि गजल लेखनमा सक्रिय गजलकार हेमन्ता भण्डारी झापाको बुद्धशान्ति निवासी हुनुहुन्छ । उहाँ शिक्षण पेशामा आबद्ध हुनुहुन्छ । उहाँ नवप्रतिभा पुरस्कार २०७३, स्रष्टा सम्मान २०७६, भविका पुरस्कार २०७९, बुद्धशान्ति वर्षकवि २०७९ लगायत विभिन्न सम्मान तथा पुरस्कारबाट पुरस्कृत स्रष्टा हुनुहुन्छ ।
कार्यक्रममा साहित्यपोस्ट मिडिया पार्टनरको रूपमा रहेकाे छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।