लेखक मोहन मैनालीको इतिहासमा आधारित नवीन पुस्तक ‘मुकाम रणमैदान’ प्रकाशनमा आउने भएकाे छ ।
‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’, ‘आकाशमुखी’लगायत लोकप्रिय कृतिहरूका लेखक मैनाली अनुसन्धानमूलक कृति ‘मुकाम रणमैदान’ लिएर पाठकमाझ आउन लागेका हुन् ।
पुस्तकका सम्बन्धमा मैनाली लेख्छन् – “१८७१–७२ सालको नेपाल–अङ्ग्रेज युद्धमा खटिएका नेपाली र अङ्ग्रेज सिपाही तथा कमान्डरले लेखेका प्रकाशित तथा अप्रकाशित, सार्वजनिक भइसकेका तथा अहिलेसम्म गोप्य राखिएका, पाएसम्मका सबै चिठी उधिन्न, ती चिठीका सजिलै चिन्न नसकिने अक्षर चिन्न, सजिलै बुझ्न नसकिने शब्द र भाषा बुझ्न र त्यो लडाइँबारे लेखिएका किताब तथा लेख पढ्नमा दुई वर्ष बिताएँ । तिनबाट पाएका जानकारीलाई लेख्न, केर्न अनि दोहोर्याई तेहेर्याई लेख्न लामो समय, धेरै धैर्य र मेहनत खर्च गरेँ । परामर्श, सम्पादन, साजसज्जा र इलेक्ट्रोनिक तथा बोल्ने संस्करण तयार गर्नमा धेरै जनाले कठोर परिश्रम गरिदिनुभयो । त्यसैको फल हो यो किताब ।’
पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्मका रणमैदानमा भएका सानाठुला लडाइँ, सुगौली सन्धी, चीनसँग गुहार मगाईलगायतका विषय समेटिएको यस किताबले त्यस लडाइँको पूर्ण चित्र प्रस्तुत गरेको छ । त्रिहत्तर हजार शब्दको मूल पाठ र १३ हजार शब्दको फुटनोट भएको यो किताब २६ खण्डमा विभाजित छ ।
इतिहासको अध्ययन, अनुसन्धानमा निकै मेहनतका साथ समय बिताएपछि इतिहासमा रुचि हुने पाठकलक्षित पुस्तकाकारका रूपमा आएको ‘मुकाम रणमैदान’लाई बुक हिलले बजारमा ल्याउन लागेको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।