Chovar Blues Mobile Size

भरतपुरको एउटा केफेमा कफी पिउँदै गर्दा कवि आख्यानकार सुमन घिमिरेले सोधे, ‘सर गतवर्ष तपाईँले मदन पुरस्कार पाउने पुस्तकको नाम नै घोषणा गर्नुभएको थियो महेश थापाको    ‘मरिचिका’ | त्यस पुस्तकले मदन पुरस्कार त पाएन तर बहुचर्चित रह्यो | यसपटक सात वटा पुस्तक छानिएका छन्, तपाईँको विचारमा कसले पाउला यो नेपालको नोबेल पुरस्कार भनिने   मदन पुरस्कार ?’

मैले भने, ‘यसपटक म कुनै एक पुस्तकको नाम लिन्न सुमन |  यसपटक छनोटमा तीन थान कविता संग्रह, दुई थान उपन्यास, एउटा कथा संग्रह र तीन भागमा विभाजित एउटा भीमकाय आयुर्वेद औषधि इन्साइक्लोपेडिया परेका  छन् |

सबैभन्दा ठूलो तीन भागमा विभाजित इन्साइक्लापेडिया र सबै भन्दा पातलो आत्मकथानकतामा आधारित १ सय षृष्ठको भुवन ढुंगानाको  संस्मरणात्मक उपन्यास ‘परित्यक्ता’ |

यो सबै  पुस्तकलाई विगत एक साताबाट पढ्दै छु, हेर्दैछु भन्नुपर्यो |  मलाई निकै रोचक लागेको पुस्तक परित्यक्ता बनिरहेको छ | एक एक पंक्ति र  प्रत्येक अनुच्छेदलाई आनन्द लिँदै पढ्दै छु परित्यक्ता | कसैले भन्लान, राम्रो पुस्तक त झन् छिटै पढ्नु पर्ने होइन र ? म राम्रो पुस्तक वा कुनै पनि पुस्तक हतारमा खेतालाले मेलो भ्याउने गरी पढ्दिनँ | महिला अस्तित्वबारे बोलिएको धेरै राम्रो संमरणात्मक उपन्यास हो यो जसमा कता कता गीतिशैली प्रयोग गर्दै प्रतिकात्मकतामा जोड दिनुभएको छ आख्यानकार भुवन ढुंगानाले | पुस्तकका प्रत्येक पानामा दर्शनसँग भेट हुन्छ र गम्भीर पाठकले निकै आनन्द लिनेछन् । केहीले मन नपराउलान पनि । किन कि विषयको गाम्भीर्यतामा पौडी खेल्न अल्छी मान्छन्, कमसल पाठक |

“माया तिमीले यो घर संसार शून्यबाट सुरु गर्नु पर्छ “… तिमीले भनेको कुरामा धेरै अर्थ रहेछन्, पछि बुझें | नारी अस्तित्वको सानो झिल्कोमा कस्तो दर्शन ?
नेपालको निकै चर्चित र उत्कृष्ट पुरस्कार कतै ‘परित्यक्ता’ले लान सक्छ कि ?

३ सय ६७ पृष्ठको चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ को पहिलो च्याप्टर पढ्दा नै मन्त्रमुग्ध भएँ | यो बाईसी-चौबीसी राज्यकालको कथा रहेछ अर्थात् नेपालको इतिहासमा आधारित एउटा अनौठो उपन्यास | यो उपन्यास बजारमा आउनसाथ बढीभन्दा बढी पाठक बनाउन सफल भएको थियो र अझै पनि यसका पाठक भन्छन्, धेरै राम्रो र पढ्नै पर्ने कृति |

कारण, यसले नेपालको इतिहास बोलिरहेको छ |

भन्न सकिन्न ‘महारानी’ को सम्भावना निकै प्रबल छ |

पुरस्कारको सुचीमा परेको एकमात्र कथासङ्ग्रह ललित विष्टको ‘मोह्पथ’ को पहिलो १२ पृष्ठको कथा ‘अनुहार’ पढ्दा म रन्थनिएकै हो | म आफैँ कथा लेख्छु र ललित बिष्टको कथाको पटकथा लेख्ने शैली र चरित्र चित्रण गर्ने शैलीको म हृदयदेखि नै प्रसंसा गर्छु |

सम्भावना त यसको पनि उत्तिकै प्रबल छ सुमन |

अब कविताको पालो | तीन कविका तीन उत्कृष्ट कविता संग्रह छनोटमा परेका छन् | तीनै कवि   मेरा प्रिय कवि हुन् | शारदा शर्माको ‘यात्रामा’ सङ्ग्रह भित्रको कविता ‘कर्ण’ कविडाँडा साहित्य समाजको मूक पत्र ‘चरैवेती’का लागि प्राप्त हुँदा पटक पटक पढ्दा पनि मन भरिएको थिएन | उहाँको कविताको शक्ति ‘यात्रामा’ सङ्ग्रहभित्रका प्रत्येक सिर्जनामा देखिन्छ | कवितालाई माध्यम बनाएर प्रश्न त धेरै कवि लेखकहरूले गर्छन् तर उहाँको ‘प्रश्न’ कविताभित्रका प्रश्न नारी अस्तित्व अध्यनका लागि निकै अर्थपूर्ण छन् |

“सेता पानाहरू रङ्ग्याएर
मैले सधैँ उतार्न खोजेको तस्बिर
मेरी थियो
तृप्त नहुन्जेल
समयका रङ्गसंग खेलिसकेपछि
जब लाग्यो दुरुस्त भयो
मैले थाहा पाएँ
त्यहाँ मेरो आकृति त थियो हुबहु
तर म थिइनँ  |”

सभ्य तरिकाले प्रस्तुत नारी अस्तित्व पीडाको यस्तै क्रन्दन भुवन ढुंगानाको उपन्यास ‘परित्यक्ता’मा पनि पाठकले अनुभूति गर्न सक्छन् |

भन्न सकिन्न है, शारदा शर्मा नेपाली साहित्यकी मुर्धन्य व्यक्तित्व हुनुहुन्छ, यसपटकको मदन पुरस्कार उहाँको आंचलमा पर्न सक्छ |

पोखराका मुर्धन्य कवि तीर्थ श्रेष्ठको कविता सङ्ग्रह ‘धर्सै धर्साको चक्रव्यूह’ ले बजारमा आउनसाथ चर्चा पाएको थियो | यसभित्रका धेरै कविता उनका प्रिय पाठकहरूले फेसबुकमा सेयर गरेका थिए | प्राकृतिक सौन्दर्यको सहर पोखरामा बसेर कविताको सुन्दरतामा रमाउने कवि तिर्थ श्रेष्ठ  नेपालका स्थापित कवि हुनुहुन्छ र व्यंग चित्रणसहित वस्तुनिष्ठा र प्रयोग उहाँको विशेषता हो |

“यस पटकको हिउँदमा
चुनाव भयो
जाडो पनि डरलाग्दो थियो
पार्टीहरूका घोषणापत्रहरूको ओच्छ्यान बनाइयो
पोस्टरहरूको सिरक ओडियो
पर्चाहरू  बालेर आगो तापियो
साह्रै सजिलोसँग हिउँद कटाइयो | “

कति सजिलै नेपाली राजनीतिप्रति घृणा व्यक्त गर्न सफल हुनुहुन्छ उहाँ उपरोक्त पङ्क्तिहरूमा |
के थाहा यसपटक यो पुरस्कार कवि तिर्थ श्रेष्ठसँगै मदन पुरस्कार विजेता सरुभक्त श्रेष्ठको प्रिय गाउँ पोखरा पुग्ने हो कि ?

एक जना अर्का बहुचर्चित कवि विमल निभाको कविता सङ्ग्रह ‘जोकरको बन्दूक’ निकै शक्तिशाली कविताहरूको सङ्ग्रह हो | उहाँले कवितामा प्रयोग गरेका बिम्ब निकैले मायने राख्छन् | भनिन्छ ‘कविताका लागि विमल निभा र विमल निभाका लागि कविता |’ कविताकै माध्यमबाट उहाँ आफ्नो असन्तुष्टि र आक्रोश बोल्नुहुन्छ | ‘इतिहासको पाठ’ शीर्षक कवितामा विमल निभाको कलाकारिताको प्रसंशा गर्नु पर्छ |  मात्र केही पंक्तिमा उहाँ विश्व विजयको मनसाय बोकी हिँड्ने अलेक्जेन्डर दी ग्रेटको विजय यात्रा भ्याइदिन्छन् अनि मात्र आठ शब्दमा सबै टुंग्याइदिन्छन उसको विजय यात्रा र जीवन यात्रा दुवै |

अन्त्यमा मर्यो
एउटा लामखुट्टेको टोकाईले
अलेक्जेन्डर दी ग्रेट

सातौँ नाम हो ‘महारसनिघन्टू’ |  यो आयुर्वेद स्वास्थ्यको इन्साइक्लोपेडिया हो | तीन खण्डमा विभाजित यस पुस्तकको आकार विशाल छ |  महँगो पनि छ |  मैले सरर हेरेँ मात्र |

के थाहा यसपटकको मदन पुरस्कार साहित्य पक्षलाई ससम्मान विदा दिँदै  ‘महारसनिघन्टू’ ले प्राप्त गर्ने हो कि ?

स्थापनाकालदेखि नै मदन पुरस्कार विवादमा न रहेको होइन, सुमन | मदन र जगदम्बाको सम्बन्ध, केदारमणि दीक्षितको जगदम्बा खेमामा प्रवेश आदि आदि धेरै पढियो पनि र भन्नेले यो एउटा जड्याको नाममा स्थापित गरेको पुरस्कारलाई खासै महत्व दिनु पर्दैन समेत भनेको मैले पढेको छु | साथै मुलुकमा गणतन्त्र आइसकेको परिपेक्ष्यमा  एउटा जहानियाँ शासकको नाममा स्थापित पुरस्कारको कुनै औचित्य छ र ? भन्ने प्रश्न पनि पढियो | तर, गुनासो पनि गर्छन्, महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला, कवि चित्तधर हृदय, सिध्दिचरण श्रेष्ठ, लैनिसंह बाङ्देल, माधव घिमिरे जस्ता नेपाली साहित्यका महारथीहरूले मदन पुरस्कार पाएनन् भनेर | मेरो विचारमा त नेपाली साहित्यका यी महारथीहरू कुनै पनि पुरस्कारभन्दा धेरै  माथि उक्लिसक्नुभएको छ । यसर्थ यो प्रसंग नै अर्थहीन लाग्छ मलाई |

मदन पुरस्कार नेपाली साहित्यको एउटा प्रतिष्ठित पुरस्कार हो । सर्जक र सृजना दुवैको स्वतन्त्र अस्तित्व भए झैँ  यस पुरस्कारको पनि स्वतन्त्र अस्तित्व थियो र छ | पुरस्कार वितरण गर्ने संस्था र छनोट समितिले पुरस्कारको अस्तित्व र यसको महत्व कायम राख्न व्यक्ति होइन सृजनालाई पुरस्कृत गर्नु पर्छ |

अन्त्यमा, मदन पुरस्कारका लागि छनौटमा परेका सबै पुस्तक पूरै पढेर मैले यो लेख तयार पारेको वा मेरो विचार राखेको होइन | एक नम्बरमा यो नै पर्छ भन्ने मेरो भनाइ पनि छैन | मैले सरसर्ती हेर्दा यी पुस्तकका विशेषताबारे मलाई लागेको मात्र भनेको हो |

आयुर्वेद इन्साइक्लोपेडिया पुस्तकबाहेक अन्य छ पुस्तकलाई छनौट समितिले पुनः दोहोर्याई तेहेर्याई पढेर एक नम्बरमा पर्ने पुस्तकको छनोट गर्नु पर्छ | अब यस वर्षको मदन पुरस्कार कसले पाउँछ ? म भन्न सक्दिनँ सुमन | बरू शायर प्रदीप पालका यी दुई पङ्क्ति भन्छु-

दुनियाँ का तमाशा देख लिया गमगीन सी है बेताब सी है
उम्मिद यहाँ इक वहम सी है तस्कीन यहाँ इक ख्याब सी है

यहाँ मेरो नितान्त निजी विचार पेखिएको छ । तैपनि सार्वजनिक हुने विषय भएकाले यसलार्इ सकेसम्म निजी मात्र हुँन दिएको छैन, पाठक धर्म पनि यही हो ।