भारत – भाग्शु धर्मशालामा विजय हितानको उपन्यास लाहुरेको रेलिमाई विमोचित भएको छ । हिमाञ्चल पञ्जाव गोर्खा एशोसियसनको १०७ औं वार्षिक उत्सवमा ख्यातिप्राप्त फुटबलर तथा कार्यक्रमका विशेष अतिथि श्याम थापाको हातबाट पुस्तकको विमोचन भएको हो ।
लाहुरेको रेलिमाई आदि व्यङ्ग्यकार तथा फस्ट गोर्खा राइफलका सैनिक मास्टर मित्रसेनको जीवनमा आधारित युद्ध उपन्यास हो ।
मन्तव्यको क्रममा उपन्यासकार हितानले भाग्शु धर्मशाला मास्टर मित्रसेनको गृह नगर भएको र यस पवित्र ऐतिहासिक भूमिमा पुसतकलाई विमोचन गर्न पाउदा आफूलाई सौभाग्यसाली ठानेको बताउनुभयो । भन्नुभयो, ‘म सन २०१७ मा यस उपन्यास लेखनको क्रममा भाग्शु धरमशाला आएको थिएँ । त्यतिबेला मास्टर मित्रसेनको बुहारी देवकन्यालाई भेटेपछि निकट भविष्यमा नै उपन्यास प्रकाशन गरेर हजुरकोसामु चढाउन आउने छु ।’
हितानले उपन्यास त प्रकाशन गरे तर भाग्शु धरमशाला पुगेको वेला देवकन्यालाई भेटन पाएनन् । केही वर्षअघि उनी स्वर्गेवास भैसकेकी छिन् । उक्त उपन्यासको एक प्रति देवकन्याका छोरा तथा मास्टर मित्रसेनका नाति अरविन्दसेनलाई भने प्रदान गरे ।
आफूले ६ वर्ष लगाएर अध्ययन, अनुसन्धान र भ्रमण गरी लेखेको उपन्यास भाग्शु धरमशालावासी गोर्खाली जमातमाझ ल्याउन पाउदा हितान हर्षले विभोर हुँदै एशोसियसनका अध्यक्ष रविन्दर रानालगायत कार्यसमितिका सदस्यप्रति कृतज्ञता प्रकट गरेका थिए ।
वार्षिक उत्सवमा दुइ दर्जनभन्दा बढी बाल तथा युवा कलाकारको सांस्कृतिक प्रस्तुति, ज्येष्ठ नागरिक र स्वयंमसेवकलाई सम्मान, गोर्खा एशोसियसनका संस्थापक अध्यक्ष सुवदार मेजर मधोसिङ रानाको सालिक अनावरण र ऱ्याफल ड्रो जस्ता कार्यक्रमहरु पनि रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समाजसेवी तथा मास्टर मित्रसेन थापामगर प्रतिष्ठान काठमाडौंका पूर्व अध्यक्ष त्रिलोकसिङ थापा मगर हुनुहुन्थ्यो भने कार्यक्रम सञ्चालन गोर्खा एशोसियसनका महासचिव प्रितम बुढाथोकीले गर्नुभएको थियो ।
भाग्सु धर्मशाला इलाकामा १८ वोटा नेपाली गाँउ छन् । प्रत्येकमा एक मुखिया चुनिएका हुन्छन् । यिनै गाउँका ३०० भन्दा बढी मानिसको उपस्थिति कार्यक्रममा रहेकाे थियो ।
कार्यक्रम संस्थाको आफ्नै हल “गोर्खा भवन”मा सम्पन्न भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।