कवि तथा निबन्धकार प्रकाश थाम्सुहाङको निबन्धसग्रह ‘शब्दथुम’ सार्वजनिक भएको छ । काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, समीक्षक राजकुमार बानियाँ, निबन्धकारद्वय रोशन शेरचन र कुमारी लामाले पुस्तक विमोचन गरेका हुन् ।

पूर्वकुलपति काइँलाले ठट्टा गर्दै थाम्सुहाङले १७ थुम नलेखेर शब्दथुम लेख्नुमा आफूलाई जिज्ञासा लागेको बताए । उनले भने, ‘शब्द भनेकै ब्रह्म र ब्रह्म भनेकै शब्द हुन् । थुम भनेको लिम्बूमा कडा वा अप्ठेरो भन्ने हुन्छ । शब्दथुम शब्दको ब्रह्म जस्तो पो लाग्यो ।’

लेखकले बुबाका बारेमा मोहक निबन्ध लेखेको काइँलाले बताए । ‘गद्य लेखनमा थाम्सुहाङको सामथ्र्यको अनुमान गर्न सक्छौँ,’ उनले भने, ‘गद्य शैली मिठो र लोभलाग्दो छ । लेखकले दर्शन र चिन्तनमा आफ्नो मत जाहेर गरेका छन् ।’

समीक्षक बानियाँले एक सय कवि जन्मिँदा एउटा निबन्धकार जन्मन पनि गाह्रो हुने समयमा शब्दथुम आउनु स्वागतयोग्य रहेको बताए । उनले भने, ‘निबन्ध आरक्षित विधाजस्तो देखिन्छ । तर, धेरैजसो निबन्धका नाममा यात्रा टिपोट बढी हुन्छ । ज्ञान कम, मिडियाले झैँ सूचना बेचिराखेका छन् ।’

‘निबन्धमा विचारमा प्रस्टता, सहिष्णु र सहअस्तित्वमा जोड दिइएको छ,’ उनले भने, ‘पहिचान मुद्दा र जराको खोजीमा अग्रसर लेखक पहिलो निबन्धबाटै स्थापित भएका छन् ।’ सरल भाषामा लेखिएको निबन्ध पाठकका लागि बोधगम्य रहेको उनको भनाइ थियो ।

निबन्धकार लामाले थाम्सुहाङलाई पूर्णकालीन साहित्यिक कार्यकर्ता भन्दा फरक नपर्ने बताइन् । रैथाने ज्ञान, पहिचान र सांस्कृतिक आन्दोलनको पक्षधरता बोकेका लेखकका निबन्धमा छिप्पिएको वैचारिकता पाइने उनको भनाइ थियो ।

लेखक थाम्सुहाङले १७ वर्षपछि दोस्रो कृतिका रुपमा शब्दथुम आएको बताए । ‘सपना लिम्बू भाषामा देख्छु, बोल्छु नेपाली, कलेजमा अंग्रेजी पढेँ,’ उनले भने, ‘यसले नेपाली भाषामा पकड कमजोर त छैन डर लागिरहन्थ्यो ।’

कुनै पनि पुस्तकले मानव समाजलाई थोरै भएपनि अंशदान गर्नुपर्छ भन्ने लागेरै यो निबन्ध आएको उनको भनाइ थियो ।

शब्दथुमा इन्डिगो इन्कले प्रकाशन गरेको हो ।