‘स्तरीय एवं मौलिक सङ्गीतको धार, नेपाली गीत सङ्गीतको आधार’ मूल नाराका साथ स्थापित नेपालको एकमात्र सांगीतिक पाक्षिक पत्रिका म्युजिक खबरले आफ्नो सातौँ वर्ष पूरा गरेको छ । यही अवसरमा म्युजिक खबरले आफ्नो सातौं वार्षिकोत्सव कार्यक्रमको अवसरमा स्रष्टा सम्मान एवं बडा दशैँको शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गर्‍यो ।

राजधानीको बालुवाटारस्थित नेपाल हाउसमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिपष्ठानका निवर्तमान उपकुलपति सङ्गीतरत्न शम्भुजित बाँस्कोटाको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा विशिष्ट अतिथि साहित्यिक पत्रकार संघका अध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेकाली रहनुभएको थियो ।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार तथा गायक शक्ति वल्लभलाई ‘म्युजिक खबर विशिष्ट स्रष्टा सम्मान’ अर्पण गरिएको थियो । यसैगरी, गायक प्रकाश सपुतलाई उत्कृष्ट वर्ष गायक, गायिका शान्तिश्री परियारलाई उत्कृष्ट वर्ष गायिकाको सम्मान र लोकप्रिय सङ्गीतकार दीपक शर्मालाई ‘वर्ष संगीतकार’बाट सम्मानित गरिएको थियो ।

यस्तै, म्युजिक खबर कला सम्मानबाट वरिष्ठ म्युजिक भिडियो निर्देशक प्रकाश भट्ट, लोकप्रिय मोडल सागर लम्साल क्षेत्री बले र एरेन्जर नरेन्द्र वियोगीलाई सम्मान गरिएको थियो ।

पत्रकारिताबाट अग्रज पत्रकार निराजन भण्डारी, व्यवसायी सम्मानबाट इन्द्रेणी स्वीट होटल एवं इन्द्रेणी कप्लेक्सका सञ्चालक शम्भु श्रेष्ठ, म्युजिक खबर साहित्य सम्मानबाट साहित्यकार अनु शाह, युवा पत्रकार रश्मी थापा र जिना कार्की, संगीतकार सुभाष प्रधान, म्युजिक खबर गायन सम्मानबाट गायक हरिराम परियार, गायिका सन्जु न्यौपाने, गायिका कल्पना सुनुवार, मोडल अनिता गिरी, सीबी माउन्ट फ्रेमिङका सञ्चालक च्याङ्बा लामा, कार्यक्रम प्रस्तोताको सम्मान सेसेमी लिम्बु सम्मानित हुनुभएको थियो ।

सम्मानित व्यक्तित्वहरूलाई कार्यक्रमका क्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपलकुलपति शम्भुजित बाँस्कोटा, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, तमु कलाकार संघका अध्यक्ष वरिष्ठ गायिका शर्मिला गुरुङ, एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला, रोयल्टी सङ्कलन समाजका उपाध्यक्ष चन्द्र शर्मा, प्राज्ञ तथा वरिष्ठ गायक दुर्गा रायमाझी कार्यक्रमकी अध्यक्ष सबिता पोखरेललगायतले सम्मान पत्र, माला तथा खादा ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै म्युजिक खबरका अध्यक्ष सुमन वैरागीले सम्पूर्ण गायक, गायिका, संगीतकार, गीतकार, संगीतकर्मीहरुको माया र सद्भावले म्युजिक खबरले सात वर्ष लामो यात्रा तय गर्न सकेकोमा खुशी व्यक्त गरेका थिए । वैरागीले पछिल्लो समयमा छापा मिडियाको संख्या घटे तापनि यसको विश्वसनियता र महत्त्व झन् झन् बढ्दै गएको बताए । फस्टाएको अनलाइन पोर्टलले बाइलाइन र दुइलाइनको पत्रकारिता गरे तापनि छापा माध्यमको म्युजिक खबरले नेपाली कलाकार र नेपाली कला संस्कृतिकै पक्षमा कलम चलाउँदै आएको बताए । नेपाली गीतसंगीतको विकास, विस्तार, प्रवर्द्धन, सम्बर्द्धनका खातिर सदैव स्रष्टा र सिर्जनाको बारेमा कलम चलाउँदै आएको र म्युजिक खबर पाक्षिकले सम्पूर्ण संगीतकर्मीहरुलाई एकै ठाउँमा समावेश गर्न सकेको बताएका थिए ।

सम्मानित व्यक्तित्वहरूको प्रतिनिधित्व गर्दै विशिष्ट सङ्गीतकार शक्ति वल्लभले छापा मिडियामा म्युजिक खबरले सातौं वर्ष निरन्तरता दिन सक्नु सिङ्गो कला क्षेत्रकै लागि खुसीको विषय हो भन्नुभयो । उहाँले म्युजिक खबरको यो यात्रालाई बधाई दिँदै सबैको विश्वासिलो मिडियाबाट आफू सम्मानित हुन पाउँदा खुसी मिलेको बताउनुभयो ।

म्युजिक खबर पत्रिकाकी सम्पादक तथा प्रकाशक सबिता पोखरेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटाले म्युजिक खबरले सम्पूर्ण संगीत क्षेत्रको प्रतिनिधित्व गर्दै मन जित्न सफल भएकोमा शुभकामना प्रदान गर्नुभएको थियो । बाँस्कोटाले म्युजिक क्षेत्रलाई मात्र केन्द्रमा राखेर प्रकाशन भएको म्युजिक खबर पाक्षिक चुनौतिभित्रको कार्य भएको बताउनु भयो ।

म्युजिक खबरले छापा माध्यममा आफ्नो यात्रालाई निरन्तर टिकाइराख्नु र स्रष्टा कलाकारहरुलाई सम्मान, प्रोत्साहन गर्दै समाचारको माध्यमले सबै सामु चिनाउने कार्य गरेकोमा सिङ्गो संगीत क्षेत्रकै लागि गर्वको विषय भएको बताउनुभएको थियो । संगीत क्षेत्रका शिष्ट र विशिष्ट व्यक्तित्वहरुको माझमा आयोजना भएको भव्य र सभ्य कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्तै खुशी मिलेको र यो कार्यक्रम आफ्नो लागि पनि विशेष रहेको बाँस्कोटाले बताउनु भयो ।

कार्यक्रममा गीतकार संघका अध्यक्ष बसन्त थापा, सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, वरिष्ठ सङ्गीतकार राजु सिंह, सुमित खड्का उपस्थित रहको कार्यक्रममा वरिष्ठ सञ्चारकर्मीहरु शान्तिप्रिय, विदुर गिरी, भरत बमजन, तुलसी गिरी, सरोज कोइराला, नायक श्रीदेव भट्टराई, हरिराम पौडेल, डब्बु क्षत्री, लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठ, निर्देशक माधवराज खरेल, बबिता श्रेष्ठको उपस्थितिले कार्यक्रमको गरिमा बढेको थियो ।

त्यस्तै, गीतकार राजेन्द्र पुरी, गायिका प्राश्ना शाक्य, गीतकार पुरुषोत्तम सानु, गायक रोशन सिंह, गायिका सीता केसी, सरिता भारती, बबिना भट्टराई, गायक चिरन्जीवी भण्डारी, पत्रकार भोला अधिकारी, प्रकाश बराइली, गीतकार सामना शाह, मोडल रिना थापा मगर, कविता बानियाँलगायत चर्चित कलाकार तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सेसेमी लिम्बुले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।