साहित्यकार टङ्कबहादुर भट्टराईको ‘ठाँटीको घाम’ नामक उपन्यास सार्वजनिक भएको छ । घटस्थापनाको अवसर पारेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आयोजित कार्यक्रमका बिच सो उपन्यास सार्वजनिक गरिएको हो ।
ताप्लेजुङस्थित जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा र मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर) ले संयुक्त रुपमा उपन्यासको सार्वजनिक गर्नुभयो ।
काठमाडौंको बुढानिलाकण्ठ निवासी साहित्यकार एवम् उपन्यासकार भट्टराईको ठाँठीको घाम नामक उपन्यास तेस्रो कृति हो । ताप्लेजुङको सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहनुभएका साहित्यकार भट्टराईले कर्मथलो रहेको क्षेत्रमा नै आफ्नो कृति उपन्यास सार्वजनिक गर्ने योजना बनाएर मुद्रण कार्यलाई तीव्रता दिनुभएको थियो ।
ठाँटीको घाम उपन्यासभित्र विभिन्न ५२ वटा खण्डमा छुट्टाछुट्टै कथा तथा विषयवस्तु समेटिएका छन् भने उपन्यास २४५ पृष्ठको रहेको छ । उपन्यासको समीक्षा स्थानीय साहित्यकार तथा लेखक शान्तिराम नेपाल र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष आनन्द गौतमले गर्नुभएको थियो ।
ठाँटीको घाम उपन्यास रत्न पुस्तक भण्डार काठमाडौंले प्रकाशन गरेको हो । आवरण लेआउट सोलुसन ग्राफिक्स डिजाइनले गरेको छ ।
भट्टराईका यसअघि ‘साँझमा पारिलो तारा–२०६७’ कविता सङ्ग्रह र ‘म पनि बग्दैछु साप्सु–२०७३’ कथासङ्ग्रह प्रकाशित छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।