नेपाली साहित्यकारहरूमाझ नेपाली चलचित्र ‘महानगर’को विशेष शो सम्पन्न भएको छ । चलचित्रको उक्त विशेष शो असोज २९ गते (सोमबार) अपरान्ह ५ बजे ओस्कार इन्टरनेशनल कलेज, सुकेधारामा सम्पन्न भएको हो ।

काठमाडौँ महानगरमाथि एक रातलाई लिएर बनाइएको चलचित्रलाई निर्माण पक्षसँगको सहकार्यमा साहित्यपोस्ट (इ) दैनिकले साहित्यकारहरूमाझ प्रदर्शन गरेको हो ।

चलचित्रको विशेष शोपश्चात छोटोमिठो साहित्यकार-निर्देशक संवादसमेत चलेको थियो । चलचित्रमाथि डा. दामोदर पुडासैनी किशोर, शरच्चन्द्र वस्ती, भवानी खतिवडालगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।

साहित्यपोस्टलाई प्रेम गर्ने अग्रज साहित्यकार, साहित्यपोस्टका स्तम्भकार, लेखक तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको समारोहमा दसैँको शुभकामना आदनप्रदानसहित चलचित्र ‘महानगर’ देखाइएको साहित्यपोस्टका प्रधानसम्पादन अश्विनी कोइरालाले जनाएका छन् ।

‘समाज परिवर्तनका लागि सिनेमा र साहित्य’ भन्ने मुल उदेश्य राखी यसको मर्मलाई आत्मसात् गर्दै साहित्यकारमाझ चलचित्रको निशुल्क विशेष शो राखिएको चलचित्रको निर्माण पक्षले जनाएको छ ।

चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौँ) विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइसकेको चलचित्र हो । चलचित्रका मुख्य कलाकार अभिनेता कार्म र अभिनेत्री मेनुका प्रधान वरिपरि घुमेको चलचित्रले महानगरको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ ।

सानो घटनाका कारणसँगै भएका दुई चरित्रको जीवनमा एक रातले ल्याएको परिवर्तनलाई चलचित्रमा उतारिएको लेखक तथा निर्देशक मोहन राईले जानकारी दिएका छन् । कामको सिलसिलामा काठमाडौँ आइपुगेका कर्मा र साहित्यकार बन्ने सपना बोकेकी मेनुकामार्फत् काठमाडौँको कथा र व्यथालाई प्रस्तुत गर्न निर्देशक राई धेरै हदसम्म सफल देखिएका छन् ।

चलचित्रमा अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेल आदि कलाकारको पनि अभिनय रहेको छ भने नरेन्द्र मैनालीले छायाङ्कन, परीक्षित झाले सम्पादन, किशोर आर्चायले ध्वनि सम्पादन तथा पुष्पासङ्गमले सङ्गीत सिर्जना गरेका छन् ।