काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी, जनकवि दुर्गालाल श्रेष्ठका जीवनी र विद्वान् लेखक कमलप्रकाश मल्लको नेपालभाषा साहित्यसम्बन्धी प्राज्ञिक अनुसन्धानात्मक पुस्तक एकैसाथ विमोचन भएका छन् । शताब्दी पुरुष जोशीको जीवनी ‘सत्यको खोज’ जितेन्द्र रसिककृत हो भने जनकवि दुर्गालाल श्रेष्ठको जीवनी ‘कवि कविताको छवि’का लेखक आर. मानन्धर हुन् । त्यस्तै, अर्को पुस्तक ‘क्लासिकल नेवार लिटरेचर’ प्रा. डा. मल्लद्वारा ४४ वर्षअघि लेखिएको हो ।
तीनै पुस्तकका प्रकाशक ‘एजुकेशनल पब्लिशिङ हाउस’ हो ।
कार्यक्रममा लेखक जितेन्द्र रसिकले शताब्दी पुरुष जोशी युगको ज्योति भएको र उनको बारे जति लेखे पनि नसकिने बताए । त्यस्तै, जीवनी लेखक आर. मानन्धरले कवि दुर्गालाल श्रेष्ठलगायत अग्रज भाषिक योद्धाहरूको योगदानको कारण आज नेपालभाषा र तामाङभाषाले बल्लतल्ल सरकारी मान्यता पाउन सफल भएको हो । अब वहाँहरूको अंश बोकर हामी सबै जाग्न अत्यावश्यक भएको औंल्याए ।
कृतिहरुको समीक्षा गर्ने क्रममा समीक्षक गोपीकृष्ण ढुंगानाले सत्यको खोज जोशीको जीवनको गहिराइमा पसेर लेखिएको महत्त्वपूर्ण दस्तावेजको रहेको र पुस्तकको हरेक परिच्छेद अनुसन्धानमूलक भएको बताए । त्यस्तै, जोशीका जेष्ठ सुपुत्र अणुराज जोशीले सत्यको खोजभित्र आफ्ना बुबाको इतिवृतान्त समावेश रहेको कुरा खुलाए ।
समीक्षक कवि सुरेश किरणले आर. मानन्धरको कृतिको चर्चा गर्दै दुर्गालाल जनताको कविको भएको र उनको बारे जान्न चाहनेलाई यो जीवनी पुस्तक निक्कै महत्त्वपूर्ण रहेको बताए । त्यस्तै, कृतिका नायक कवि दुर्गालाल श्रेष्ठले मन्तव्यको क्रममा कृतिको बारे अभिव्यक्त गरे, ‘म अब आफ्नो शरीरमा हैन, यो किताबमा छु । लेखकले मलाई शतप्रतिशत किताबमा उतार्नुभएको छ ।’
प्रा. डा. मल्लको कृति ‘क्लासिकल नेवार लिटरेचर’को समीक्षा लेखक तथा अधिकारकर्मी मल्ल के. सुन्दर र सर्जक अभि सुवेदीले गरेका थिए । समीक्षकहरूका अनुसार सो कृति प्राचीन नेपालभाषामा लेखिएका सैयौं कृतिहरुको गम्भीर अनुसन्धानको नतिजा हो । यसै कृतिले अन्वेषकहरूलाई अझै थप शोध–अध्ययनको लागि ढोका खोलिदिएको छ ।
सो कार्यक्रम गायक तथा पत्रकार कपिल कसपालले सञ्चालन गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।