नेपाल गणित समाजले आफ्नो कार्यशालाको छेको पारेर एक कार्यक्रमका बिच सम्बोधिका साँझ सम्पन्न गरेको छ ।

समाजका सचिव तथा स्रष्टाका अन्तरङ्ग मित्र डा. प्रमेश कट्टेलले अत्यन्त रोचक ढङ्गले उक्त साँझ सञ्चालन गर्दै सोधे, ”सम्बोधिका को हो ? सम्बोधिका के हो ? हजुरहरूलाई थाहा छ ? कविकी पत्नी तथा उनकी प्रेमिका कवि रिता अधिकारी ऋतुलाई पनि लाग्छ, यो कुरा अरुलाई थाहा नभए नि मलाई चाहिँ पक्कै थाहा छ। तर पत्याउनुस्, नपत्याउनुस्, अहँ मलाई पनि थाहा छैन । त्यसो भएसि तपाईँ ढुक्क हुनुस्, यो कविलाई पनि थाहा छैन । सायद यो कम्प्लेक्स भ्यालुड फक्सन हो, तपाईँ रियल स्पेसमा यसलाई खोज्दै हुनुहुन्छ । यो आत्मापरमात्मासित जोडिएको विषय हो । अमूर्त अनि अलौकिक !

‘साथी भनेको यस्तै हुनुपर्छ । म अब ढुक्क भएँ’, स्रष्टा डा. ईश्वरमणि अधिकारीले यसोभन्दा माहौल अर्कै भयो ।

साँझमा समाजका उपसभापति तथा साहित्यका अध्येता डा. श्रीराम खडकाले यौटा गणितज्ञको लेखकीय विशिष्टता तथा सामर्थ्यको चर्चा गर्दै सम्बोधिका नेपाली मुक्तकको मानक कृति भएको र लेखनमा म्याथमेटिकल अप्टिमाइजेसनको अधिकतम उपयोग भएको धारणा व्यक्त गरे । न्यूततम शब्द र पदावलीमा अधिकतम भाव गाम्भीर्य बोकेका उनका मुक्तकले समय, समाज, विचार, दर्शन र प्रेमलाई सम्बोधन गरेको बताउँदै सम्बोधिकाको काव्यिक सौन्दर्य, भाव गाम्भीर्य, संरचनात्मक कौशल तथा स्पर्श सामर्थ्यको हृदय खोलेर प्रशंसा गरे ।

कार्यक्रममा कवि तथा समाजका सहसचिव डा ईश्वरमणि अधिकारीले सङ्ग्रहबाट आफ्ना रोजाइका ५ मुक्तक सुनाउँदै सिर्जना अनुभवसहित गणित र साहित्यको अन्तरसम्बन्धको चर्चा गर्दै गणित समाजको यस्तो कार्यक्रमले आफूले आफ्नो घरमा न्यानो छानो पाएको महसुस गरेको धारणा व्यक्त गरे ।

धन्यवाद ज्ञापन गर्दै कार्यक्रममा समाजका सभापति प्राडा नारायण प्रसाद पहारीले आफूले आजभन्दा झण्डै तीन दशकअघि आफैँले पढाएको चेलाको प्रेमिल दर्शन र विचारबाट आफू प्रभावित भएको बताउँदै गणितमा साहित्यको महत्त्व र जीवनमा प्रेमको असरका बारेमा आफ्ना धारणा व्यक्त गरे ।