यशोभानु साहित्य तथा संगीत प्रतिष्ठानको तेस्रो स्थापना दिवस तथा इलामे कवि श्री भानुभक्त भट्टराईको ८४ औं जन्म जयन्तीको अवसरमा इलाम सदरमुकाममा “सिर्जनाको क्यानभासमा इलाम भाग २” विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

संसारभरि छरिएर रहेका इलामे सर्जकहरूलाई सिर्जनाको एउटै मालामा बुन्ने प्रयत्न स्वरूप यशोभानु साहित्य तथा संगीत प्रतिष्ठानले सुरु गरेको यस परियोजनामा गत वर्ष १०१ जना इलामे सर्जकहरूलाई समेटेर “सिर्जनाको क्यानभासमा इलाम” प्रकाशित गरिएको थियो । उक्त प्रकाशनको निरन्तरता स्वरूप यस वर्ष भाग दुई प्रकाशित गरिएको हो ।

यस अङ्कमा ५३ जना कवि तथा लेखकका रचना समावेश गरिएका छन् ।

इलाम नगरपालिकाका मेयर केदार थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सिर्जनाको क्यानभासमा इलाम भाग २ मा समावेश गरिएका सम्पूर्ण सर्जकहरूलाई कदरपत्र प्रदान गरिएको थियो । संस्थाकी अध्यक्ष शान्ता भट्टराई रिजालको सभापतित्वमा  सम्पन्न  उक्त कार्यक्रमको सञ्चालन कवि जय नारायण भट्टराईले गर्नुभएको थियो ।

कार्यक्रमको संयोजन र व्यवस्थापन  संस्थाका सल्लाहकार दुर्गा अधिकारीले गर्नुभएको थियो । त्यस्तैगरी, संस्थाले गर्दै आएका सामाजिक गतिविधि र भावी योजनाको बारेमा  संस्थाकी महासचिव देवी भट्टराई अधिकारीले प्रकाश पार्नुभएको थियो ।

इलाम र इलामबाहिर रहनुभएका वरिष्ठ साहित्यिक र प्राज्ञिक व्यक्तित्वहरू प्रा.डा शिवप्रसाद रिजाल, विमल वैद्य, देवी दुलाललगायतका साहित्यकारहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा उपस्थित सर्जकहरूले कृतिमा समावेश गरिएका आफ्ना रचना वाचन गर्नुभएको थियो ।

संस्थाका भावी परियोजनाअन्तर्गत अर्को वर्ष संस्थाका संरक्षक कवि भानुभक्त भट्टराईको स्मृति ग्रन्थ प्रकाशन गर्ने योजना रहेको उक्त कार्यक्रममा जनाइएको थियो ।