काठमाडौँ । कवि मदन कार्कीको कविता सङ्ग्रह ‘भावुकताको बीउ’ राजधानीमा एक साहित्यिक समारोहका बिच विमोचन गरियो । कृतिको विमोचन वरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्मा, कवि तथा अनुवादक रामबहादुर पहाडी, लेखक तथा समालोचक राप्रउ पोखरेल, निबन्धकार तथा समीक्षक राजकुमार बानियाँ तथा कविकी धर्मपत्नी शुशीला कार्कीले संयुक्त रूपमा गर्नुभयो ।

समारोहमा साहित्यकार नगेन्द्रराज शर्माले कवि कार्कीसँगको भेट र संगतलाई सम्झने क्रममा शर्माले भक्कानिँदै उहाँका चर्चित कविता अभिव्यक्ति साहित्यिक पत्रिकामा प्रकाशन गरेको स्मरण गर्नुभयो । उहाँले प्रत्येक विहीबार हुने अभिव्यक्ति जमघटको सुरुआत कवि मदनद्वारा सञ्चालित कार्की—किचेनबाटै भएको तथ्यको पनि स्मरण गर्दै भन्नुभयो, ‘महिनाको प्रत्येक पहिलो बिहीबार हुने कार्यक्रममा सधैँजसो नै मदन कार्कीजीले कविता सुनाउनुहुन्थ्यो ।’

विमोचित कृतिको कवितामाथि प्रकाश पार्दै समालोचक रामजीप्रसाद उपाध्यायले मदन कार्कीका कवितामा बेजोड व्यङ्ग्योक्ति पाइने र विषयमा विविधता हुने बताउनुभयो । सो अवसरमा उहाँले यस सङ्ग्रहमा संकलित हुन नसकेका कवितालाई पनि संकलनका ल्याउनु आवश्यक भएको तथ्य पनि औल्याउनुभएकोथियो ।

साहित्यकार रामबहादुर पहाडीले कवि मदन कार्कीको सम्झनामा रच्नुभएको गजल गाउनुभयो र कार्कीको निधनले आफू एक्लो भएको बताउनुभयो ।

विमोचित कृतिमाथि प्रकाश पार्दै राजकुमार बानियाँले कोरोनाका कारण कविको असामयिक निधन भएका कारण तीन वर्षअगाडि नै मुद्रण भएको कृति विमोचन हुन ढिला भएको बताए । उनले अगाडि भने, ‘वि.सं. २०२१ सालदेखि कविता प्रकाशन गर्न आरम्भ गरेका कविको कविताकृति यसरी लेखनको ६ दशक पुग्नलाग्दा विमोचन हुनु तर कविले यो हेर्न नपाउनुलाई विडम्बना भन्नुपर्छ ।’

कार्यक्रमका अतिथि कवि मदन कार्कीकी धर्मपत्नी सुशिलाले ढिलै भए पनि यो कृति विमोचन गर्न पाउँदा उहाँ अहिले यही हुनुहुन्छ जस्तो लागिरहेको बताउनुभयो । उनले अगाडि भन्नुभयो, ‘मलाई लाग्छ, उहाँ जहाँ हुनुभए पनि कृति विमोचन भएकोमा खुसी हुनुभएको छ र मलाई धन्यवाद दिइरहनु्भएको छ ।’

समारोहमा विमोचित कृतिबाट कवि गोकुल अधिकारी, जीवनपानी, बाबु त्रिपाठी, राबत, वेणु अधिकारी, शैलेन्द्र सिग्देल लगायत स्रष्टाले कविता वाचन गर्नुभएको थियो । आमोद कार्की र आलोक कार्कीले स्वागत तथा धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजीकरण कवि मनोजादित्य न्यौपानेले गर्नुभएको थियो ।