जङ्ग बोगटी ‘त्रिवेणी’ कृत उपन्यास हो, ‘नपुरिएका घाउहरू’ । ‘त्रिवेणी’ले उपन्यासलाई माध्यम बनाएर समाजमा व्याप्त विकृति, विसङ्गति, अन्याय, अत्याचार, शोषण, दमन र थिचोमिचोका विरुद्धमा सशक्त रुपमा आवाज उठाएका छन् ।

उपन्याकार कथानकबाटै प्रश्न गर्छन्, ‘विकास भनेको त सकारात्मक परिवर्तनको प्रक्रिया हो । के कसैलाई काटमार गर्नु विकास हो ? कसैलाई दबाउनु विकास हो ? कसैको जीवन बर्बाद पारीकन कसैको जीवन रंगीचंगी हुनु विकास हो ? गरिब नपाएर मर्ने अनि धनी नखाएर मर्ने विकास हो ? भाइले भाइलाई समाप्त पार्नु विकास हो ? श्रीमान्ले श्रीमतीको शरीरमा आगो लगाउनु विकास हो ? जन्मदिने आमाबुबा आफ्नै सन्तानबाट अपहेलित हुनु विकास हो ?’

उपन्यास अघि बढ्दै जाँदा उपन्यासकार दार्शनिक बन्छन् । भन्छन्, ‘संघर्ष जन्मदेखि मृत्युसम्म पछ्याइरहन्छ । मान्छे एक्लै जन्मियो । एक्लै दु:ख पीडासँग मुकाबिला गर्यो । अनि एक्लै मरेर गयो । आखिर सत्य कुरा नै यही रहेछ । अरु सबै मान्छेहरू आस देखाउने मात्रै रहेछन् । जिन्दगी भन्नु आसै आसमा बाँच्नु पर्दो रहेछ । के गर्ने ! मनका पीडा कसलाई सुनाउने ?’

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । २ सय ३० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ९० रुपियाँ रहेको छ ।