लेखक नरेन्द्रजङ्ग पिटरको संस्मरण–पुस्तक ‘बकपत्रः जीवन दर्शन र संघर्ष’ राजधानीमा एक कार्यक्रम बिच सार्वजनिक गरिएको छ । पुस्तककाे विमोचन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा गरिएको हो ।

जीवन स्वयम् एउटा महाआख्यान हो भन्ने लेखक पिटर हरेक मानिसको जीवनलाई विश्वविद्यालय मान्छन् । यस पुस्तकलाई समेत उनले आफ्नै जीवनको एक बकपत्र मानेका छन् । उनी भन्छन्, ‘मलाई ठक्करको दर्शन सिकाएकोमा धन्यवाद जिन्दगी । दगुर्न नसके पनि हिँड्न त सिकाइस् तैंले ।’

कार्यक्रममा आख्यानकार नयनराज पाण्डेले भने, ‘यो किताब निष्ठावान व्यक्तिको बकपत्र हो । समाजमा इमानदार मान्छे अत्यन्तै कम पाइन्छ । अहिले कस्ता मान्छे सत्तामा पुगेका छन् भन्ने विषय लेखक पिटरको जीवनशैलीले पनि देखाएको छ ।’

त्यस्तै साहित्य समीक्षक विन्दु शर्माले भनिन्, ‘युद्धमा लागेर पनि पिटरले युद्धका नकारात्मक पक्षलाई संक्षेपमा लेख्दै अत्यन्तै सरल भाषामा आफूले देखे–भोगेका जिन्दगीका पुराना/नयाँ तस्बिर पुस्तकमा उतार्नु भएको छ।’

पूर्वप्रशासक शारदाप्रसाद त्रितालले भने, ‘पूरै पुस्तक पढिरहँदा यो एक कम्युनिष्टले लेखेको गैरआख्यानजस्तो लाग्दैन, बरू कम्युनिष्टभित्रका विकृतिको व्यापक आलोचना पिटरका लेखनीमा छन् ।’

पुस्तकमा माओवादी युद्धकालका प्रसङ्गहरू, सीपी गजुरेल, हरिबोल गजुरेल, रामबहादुर थापा बादलका साथै यानप्रसाद गौतम ‘आलोक’ आदिबारे प्रसङ्गहरू उल्लेख छन् । साथैफ वर्ग सङ्घर्ष, प्याओ प्रवृत्ति, कारबाहीका नाममा अन्तरघात आदिका साथै माओवादी पार्टी ओरालो लाग्नुका कारणलाई मिहिन ढङ्गले अध्ययन र विश्लेषण गरिएकाे छ ।

इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तकको मूल्य ६४९ रुपैयाँ रहेको छ ।