कमल रिजालको चर्चित उपन्यास सुकर्मको अङ्ग्रेजी संस्करण ‘डिप क्वेस्ट (Deep Quest)’ सार्वजनिक भएको छ । अनामनगरस्थित साहित्यपोस्टको कार्यलयमा लेखक कमल रिजाल, अनुवादक महेश पौड्याल र प्रकाशकका तर्फबाट अश्विनी कोइरालाले पुस्तकको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

उपन्यासलाई नेपालीबाट अङ्ग्रेजीमा दर्जनौँ कृतिहरु अङ्ग्रेजीबाट नेपाली र नेपालीबाट अङ्ग्रेजीमा अनुवाद गरिसकेको लेखक, अनुवादक महेश पौड्यालले गरेका हुन् । पौड्याल सुकर्मलाई बिम्वात्मक किताब भएको बताउँछन् । उनी भन्छन्, ‘हामी आख्यानमा बिम्ब छर्छौँ तर सुकर्म आफैँ बिम्बजस्तो छ । पूरा उपन्यास नै बिम्बमा लेखिएको छ । एक अनुवादकका लागि यो केवल अनुवाद नभएर त्योभन्दा बढी साधनाको काम थियो । एक वर्ष खर्चिएर त्यो साधना पूरा गरेँ, लागेको छ – न्याय गरेको छु ।’

सुकर्मका लेखक कमल रिजाल अनुवाद कार्यलाई लिएर सन्तुष्ट भएको बताउँछन् । नेपालमा अङ्ग्रेजी पढ्ने पुस्ता हुर्कँदै गएको अवस्थामा नेपाली पाठकमाझ लोकप्रिय आफ्नो उपन्यासलाई अङ्ग्रेजीमा ल्याउन चाहेको उनी बताउँछन् । भन्छन्, ‘केही वर्ष पहिले अनुवादकै लागि भने प्रज्ञा प्रतिष्ठानसम्म गएँ, अङ्ग्रेजीमा सम्भव नभए पनि सुकर्म हिन्दी संस्करणका रुपमा प्रकाशनमा आयो । आज महेश पौड्यालजी र साहित्यपोस्टसँगको सहकार्यमा अङ्ग्रेजी संस्करण सार्वजनिक भयो । अङ्ग्रेजी पाठकहरुबाट पनि सकरात्मक प्रतिक्रियाको अपेक्षा छ ।’

कमल रिजालजस्ता पाठकबाट अनुमोदित पत्रकार तथा लेखकलाई साहित्यपोस्टबाट प्रकाशन गर्न पाउनु आफ्नो समूहको सफलता रहेको बताउँछन् साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइराला । भन्छन्, ‘साहित्यपोस्टको यात्रा सामूहिक यात्रा हो । सामूहिक यात्रामा विश्वास सबैभन्दा जरुरी हुन्छ । कमल सरले हामीलाई विश्वास गर्न भनेको हामी यो यात्रामा धेरै अगाडि बढिसकेका छौँ ।’

उपन्यासकार रिजालका अनुसार उपन्यासको केन्द्रमा पूर्वीय सभ्यता छ, जसले विज्ञानलाई डोर्याउँछ । उपन्यासले विगतको ५ हजार र भविष्यको ५ सय गरी जम्मा ५५ सय वर्षको समयलाई कथानकमा रोचक तवरले समेटेको छ ।

गोरखापत्रका पूर्व प्रधानसम्पादक रिजालको यो सोह्रौँ कृति हो । यसअघि उनका पृथा, धर्मदर्शन, दृष्टिभ्रम, सत्यवती, पूर्वीय दर्शन मीमांसा, पूर्वीय दर्शन विमर्शलगायत कृतिहरु प्रकाशित छन् ।

पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो । यसअघि नै उपन्यास सुकर्मको हिन्दी संस्करण प्रकाशित भइसकेको छ ।