चाडबाडलाई लक्षित गरी पोखरामा ‘पुस्तक मेला’ सुरु भएको छ। आइतबारदेखि न्यूरोडस्थित हिमालयन रिडर्स कर्नरले पुस्तक खरिदमा विशेष छुटको योजनासहित मेला सुरु गरेको हो ।
दसैँ, तिहारलगायत पर्वका अवसरमा पाठकलाई सहुलियत दरमा पुस्तक उपलब्ध गराउन मेला आयोजना गरिएको रिडर्स कर्नरले बताएकाे छ ।
मेलामा किताब खरिद गर्दा विभिन्न छुट योजना ल्याइएको छ । रु. १९ सय ९९ को किताब खरिदमा १० प्रतिशत, दुई हजारदेखि ३४ सय ९९ सम्मको किताब किन्दा १५ प्रतिशत, ३५ सयदेखि ४९ सय ९९ सम्मको किताबमा २० प्रतिशत छुट पाइनेछ। त्यस्तै, पाँच हजारदेखि माथिको किताब किन्दा २५ प्रतिशत छुट र दुईवटा किताब सित्तैमा दिइने छ ।
पुस्तकालयका लागि १० हजारदेखि २५ हजार नौ सय ९९ सम्मको नेपाली साहित्यका किताब खरिद गर्दा २० प्रतिशत र अङ्ग्रेजी भाषाका किताब किन्दा १५ प्रतिशतसम्मको छुट पाइने जनाइएको छ । यस्तै, नेपाली साहित्यतर्फ २६ हजारदेखि ४९ हजार नौ सय ९९ सम्मको किताबमा २५ प्रतिशत र अङ्ग्रेजी किताबमा २० प्रतिशत छुटको व्यवस्था रहेको छ ।
५० हजारभन्दा माथिको नेपाली साहित्यको किताब किन्दा ३० प्रतिशत र अङ्ग्रेजी साहित्यको किताब किन्दा २५ प्रतिशत छुट दिइने छ । किताब मेलामा राखिएका कतिपय किताब ५० प्रतिशतसम्म छुटमा उपलब्ध गराइने रिडर्स कर्नरले जनाएको छ ।
पोखरास्थित साझा प्रकाशनको शाखा कार्यालयमा पनि अहिले पुस्तक प्रदर्शनी चलिरहेको छ । असोज सात गतदेखि सुरु भएको प्रदर्शनी सोमबार सकिने छ । साझामा प्रदर्शनीमा राखिएका पुस्तकको बिक्रीमा न्यूनतम ३० देखि बढीमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
हिमालयन रिडर्स कर्नरको पुस्तक मेला कात्तिक चार गतेसम्म जारी रहने छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।