
नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार शुक्रवार अर्पण गरिएको छ ।
८० सालको भैरव पुरस्कार वरिष्ठ हास्यव्यङ्ग्यकार मुन पौडेललाई प्रदान गरिएकाे छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैँया रहेको छ ।
त्यस्तै, १ लाख १ हजार १ सय ११ रुपैँया राशिको भैरव वाङ्मय पुरस्कार प्राध्यापक डाक्टर अभि सुवेदीलाई प्रदान गरिएकाे छ भने ५१ हजार १ सय ११ रुपैँया राशिको भैरव प्रतिभा पुरस्कार व्यङ्ग्यकार बद्रीप्रसाद दाहाल (भस्मासुर) लाई प्रदान गरिएकाे छ ।
भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल लगायतले स्रष्टाहरूलाई पुरस्कृत गर्नुभएको हो । पुरस्कृत स्रष्टाहरू पौडेल, सुवेदी र दाहालको साहित्यिक योगदान बारेमा क्रमशः मुकुन्द आचार्य, डाक्टर शिव रिजाल र डाक्टर बलदेव अधिकारीले प्रकाश पार्नुभएको थियो भने साहित्यकार भैरव अर्यालको जीवनको बहुआयामीक पक्षबारे साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले चर्चा गर्नुभएको थियो ।
सोही अवसरमा भैरव अर्यालको समीक्षा र मुकुन्द आचार्यकृत ‘अथ हाकिमो वाच’को लोर्कापण गरिएको थियो । ‘अथ हाकिमो वाच’को समीक्षा साहित्यकार रमेशप्रसाद खनालले गर्नुभएको थियो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले साहित्यिक विकासमा नगरपालिकाले निर्वाह गरेको भूमिकाबारे जानकारी गराउँदै साहित्यको विकासबाट मात्र समृद्ध समाज निर्माण गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा गुठीका अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरले आफ्ना अभिन्न मित्रसमेत रहेका भैरव अर्यालको बहुआयामीक व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो । गुठीका सचिव वसन्त रिजालले विगतदेखि गुठीले गर्दै आएको गतिविधि सार्वजनिक गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

