कवि तथा गजलकार युवराज भण्डारीको कवितासङ्ग्रह ‘अर्को कर्नाली’ बजारमा आएको छ ।
लामो समयदेखि लेखनमा क्रियाशील भण्डारीको यो पहिलो कवितासङ्ग्रह हो । यस सङ्ग्रहमा भण्डारीले २०७५ सालदेखि २०८० सालसम्म लेखेका ५६ वटा समसामयिक कविताहरू सङ्कलित छन् । कवितासङ्ग्रह सँगसँगै उनको ‘भावनाको तस्वीर’ (गजलसङ्ग्रह) प्रकाशनको प्रतीक्षामा प्रेसमा छ । ‘नारीको आवाज’ (तिजका गीतसङ्ग्र्रह, २०४७) प्रकाशित कृति हो ।
‘अर्को कर्नाली’ सङ्ग्रहमा साहित्यकार डा. नेत्र एटमले भूमिका लेखेका छन् । भूमिकाको क्रममा उनले लेखेका छन्, “युवराज भण्डारीको ‘अर्को कर्नाली’मा सङ्कलित कविता समसामयिक समस्या, चिन्ता, मुद्दा र परिवेशसँग कविको भावनाले अन्तरक्रिया गरेपछि अभिव्यञ्जित आलोकका काव्यगुच्छा हुन् । यी कविता भौतिक संसार, लौकिक जीवन र अध्ययन-अनुभवका विविध स्रोतबाट माथि उठ्दै गरेको कविका गहन चिन्तनसार हुन् । उनका कविता भावावेगमा प्रवाहित छन्, जसले गर्दा तिनले पाठकको गूढ अनुभूतिलाई प्रदीप्त पार्छन् र भाषिक कलाका रूपमा कविताको पृथक् सौन्दर्यशास्त्रीय विशिष्टता स्थापित गर्छन् ।”
डुम्रिबेसी, तनहुँमा जन्मिएका युवराज भण्डारी अहिले टोरन्टो, क्यानडामा रहेर आजीविका चलाउँदै नेपाली भाषा साहित्य सिर्जनामा सक्रिय छन् । पेसाले इन्जिनियर भण्डारीका कल्पतरु, कान्तिपुर, गोरखापत्र, शाल्मलि, मधुपर्क, वैजयन्ती, फित्कौली, मुक्तक सागर, नागरिक दैनिक, साहित्य पोस्ट, समकालीन साहित्यलगायतका पत्रपत्रिकामा दर्जनौँ फुटकर रचना प्रकाशित हुँदै आइरहेका छन् ।
कवि भण्डारीको ‘अर्को कर्नाली’ भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यस कृतिको मूल्य मूल्यः रु. २९० रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।