साहित्यपोस्ट

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आफ्नै निवास ललितपुरमा दुई पुस्तक विमोचन गरेका छन् । उनले साहित्यकार तथा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तका दुई कृति ‘ जयपुरदेखि पुरीसम्म ‘ (नियात्रासङ्ग्रह) र ‘ पुर्खाको बाटो ‘ (नियात्रोपन्यास) विमोचन गरेका हुन् ।

सो अवसरमा जोशीले नेपाली नियात्रा साहित्यमा पन्तको योगदान महत्त्वपूर्ण रहेको चर्चा गर्दै साहित्यिक पत्रकारिताको विकासमा पनि पन्तको समर्पण बिर्सन नहुने बताएका थिए । कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदन, डा. रामप्रसाद दाहाल, डा. लेखप्रसाद निरौला र यादव भट्टराईले रामप्रसाद पन्तको कृतित्व र व्यक्तित्वका बारेमा आफ्नो धारणा राखेका थिए ।

कृतिकार पन्तले रोग सङ्क्रमणको यस्तो विषम परिस्थितिमा पनि आफ्नो निवासमै बोलाएर कृति विमोचनको अवसर दिएकोमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति कृतज्ञता व्यक्त गरेका थिए । कृतिकारले बन्दाबन्दीको समय आफ्ना कृति प्रकाशनका निम्ति अनुकूल भएको साहित्यपोस्टसँग बताए ।

अठार नियात्रा विधाका कृति प्रकाशन गरिसकेका पन्तका विभिन्न विधाका बत्तीस कृति प्रकाशित छन् ।