साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई भाषाविद्, लेखकद्वय प्रा.डा. देवीप्रसाद गौतम र डा. प्रेमप्रसाद चौलागाईद्वारा लिखित भाषासम्बन्धी उपयोगी पुस्तक “सामान्य भाषाविज्ञान” प्राप्त भएकाे छ ।

२ सय ६८ पृष्ठमा फैलिएको प्रस्तुत पुस्तकलाई ‘अध्याय एक – ध्वनिविज्ञान र वर्णविज्ञान’, ‘अध्याय दुई – रूपविज्ञान’, ‘ अध्याय तीन – वाक्यविज्ञान’, र ‘अध्याय चार – अर्थविज्ञान’मा विभाजित गरिएको छ ।

“यस पुस्तकमा सामान्य भाषाविज्ञानसँग सम्बद्ध गहन र सूक्ष्म विषयलाई पर्याप्त मात्रामा उदाहरण, आवश्यक स्थलमा बुँदा, तालिकका, आरेख, वृक्षारेख र सूत्रहरूका माध्यमबाट सरल रूपमा प्रस्तुत गरिएको छ । विषयवस्ताुको प्रकृति अनुरूप र आगमनात्मक निगमनात्मक र व्याख्यात्मक विधिको उपयोगी गरी लेखिएको प्रस्तुत पुस्तकमा यथासम्भव नेपाली भाषाबाट उदाहरणहरू दिइएका छन् । नेपालीबाट स्पष्ट हुन नसक्ने ठाउँमा संस्कृत र अङ्ग्रेजी भाषाका उदाहरणहरू दिइएका छन् ।” प्राक्कथनमा लेखिएको छ, “विशेष गरेर नेपाली स्नातकोत्तर तहको ऐतिहासिक तथा सामाजिक भाषाविज्ञानको अध्ययन र अध्यापनका लागि सरल, तथ्यपरक र शोधमूलक सामग्री सहज रूपमा एउटै पुस्तकमा उपलब्ध हुन सकोस् भन्ने उद्देश्यले हामीले यो पुस्तक तयार पारेका छौँ । यसैले प्रस्तुत पुस्तक स्नातकोत्तर तहका विद्यार्थीका लागि आधिकारिक पाठ्यपुस्तककै रूपमा रहेको छ भने दर्शनाचार्य र स्नातक तहका विद्यार्थीका लागि पनि यसले सन्दर्भ सामग्रीको काम गर्ने छ भन्ने हाम्रो विश्वास छ । यति मात्र नभई यो पुस्तक सम्बद्ध विषयका शिक्षकका लागि आधार सन्दर्भ सामग्री बन्नुका साथै भाषाविज्ञानमा चासो राख्ने सबैका लागि उपयोगी बन्ने छ भन्ने कुरामा हामी पूर्ण रूपमा विश्वस्त छौँ ।”

भुँडीपुराण प्रकाशनबाट बजारमा ल्याइएको पुस्तकको मूल्य ४ सय ९० रुपियाँ रहेको छ ।