साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई साहित्यकार सृजन लम्सालको नवौँ कृत तथा दोस्रो लघुकथासङ्ग्रह  “धरतीमा यमराज” प्राप्त भएकाे छ ।

१ सय ४ पृष्ठमा मौलाएको यस पुस्तकमा ‘कान्छी माइजू’, ‘सामाजिक दूरी’, ‘अनुदान’, ‘खबरदारी’, ‘कारबाही’, ‘पुनरागमन’, ‘छेपारो’, ‘फैसला’, ‘मिठाइको प्याकेट’, ‘बोक्रे धाक’ लगायत ७५ लघुकथा सङ्ग्रहित छन् । जसमा ३९ ओटा लघुकथाहरू कोरोना विषयका छन् भने ३६ ओटा समकालीन नेपाली समाजका विषयसँग सम्बन्धित छन् । विशेषगरी लघुकथाहरूमा राजनीतिक, सामाजिक क्षेत्रमा भएका विकृति र विसङ्गतिलाई आधार बनाइएका छन् ।

धरतीका यमराज “यस सङ्ग्रहका लघुकथाहरूले अन्धविश्वास र बलिप्रथाको विरोध गरेको छ । सोझासाझा जनतालाई भ्रममा विश्वस्त बनाएर व्यापार र प्रचार गरिरहने ढोँगी बाबाहरूको पनि पर्दाफास लघुकथाले गरेको छ । सन्तानमा हुने गरेका विभेदको अन्त गरिनुपर्ने, आजको भडकिलो फेसनले बढाएको विकृतिलाई रोक्नुपर्ने, मादक पदार्थकै कारण घर परिवारमा विखण्डन आउने गरेको, आत्मप्रशंसाले आफैलाई हानी पुर्याउने जस्ता सकारात्मक र सन्देशपरक लघुकथाहरू यसमा रहेका छन् ।” भूमिकामा श्रीओम श्रेष्ठ ‘रोदन’ लेख्छन्, “यसमा जुनसुकै क्षेत्र र विषय उठाएको भए पनि यथार्थ रूपमा प्रस्तुत गरिएको छ । आजका मानिसले भोगिरहनुपरेका सत्यलाई लघुकथाहरूले स्वीकार गरेका छन् । समाज र जीवनसँग नजिक भएका लघुकथाहरू जीवन्त बनेका छन् । लघुकथाको शैली सरल रहेको छ । केही लघुकथामा प्रत्यक्ष र केहीमा अप्रत्यक्ष रूपले व्यङ्ग्य रहेका छन् भने केहीमा सकारात्मक सन्देश पनि रहेका छन् । यही कारण लघुकथाहरू चोटिला र प्रभावकारी समेत बन्न सकेका छन् ।”

स्वदेश प्रकाशनले बजारमा ल्याएको पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।