
कृष्णनील कार्की, असम । भारत, असमको ऐतिहासिक कटन विश्वविद्यालयको भाषा, संस्कृति तथा कला केन्द्र साथै इन्द्रेनी प्रकाशनको युग्म आयोजनमा चयनित कथाहरूको अनुवाद कार्यशाला एवम् द्वैमासिक राष्टिय पत्रिका ‘इन्द्रेनी’को लोकार्पण सम्पन्न भयो । कटन विश्वविद्यालयको MCB 311 सभागारमा कार्यक्रम तिनवटा सत्रमा सम्पन्न भएकाे हाे ।
पहिलो सत्रको अध्यक्षता गुवाहाटी विश्वविद्यालयका अध्यापक डा. खगेन शर्मा तथा दोस्रो सत्र कटन विश्वविद्यालयका अध्यापक डा. महेश्वर कलिताले गरेका थिए भने तेस्रो सत्रको अध्यक्षता सर्जक, प्रवक्ता तथा सामाजिक कार्यकर्ता नवप्रभा अधिकारीले गरेकी थिइन् ।
पहिलो सत्रको थालनीमै राष्टिय पत्रिका ‘इन्द्रेनी’काे लोकार्पण चिराङ जिल्लामा उपआरक्षी अधीक्षकका रूपमा सेवारत डा. रश्मिरेखा शर्माका बाहुलीबाट गरिएकाे थियो ।
पत्रिका लोकार्पण गर्दै रश्मिरेखा शर्माले भनिन्, “एउटा स्तरीय पत्रिकाको खाँचो थियो, त्यो आज पूर्ण भयो । पत्रिका टिकाउन गाह्रो छ । असमबाट धेरै पत्रिका जन्मिए, तर टिकेनन् । अब ‘इन्द्रेनी’ टिक्नुपर्छ । पाठक सृष्टि गर्नुपर्छ । वार्षिक ग्राहक धेरैभन्दा धेरै बनाउनुपर्छ । पाठकहरूको माया साथै पर्याप्त साहित्यिक खोराक पत्रिकामा रहयाे भने पत्रिकाले निरन्तरता अवश्य पाउने छ ।”
यस पत्रिकाको मुख्य सम्पादक रुद्र बराल तथा सम्पादक पूजा उपाध्याय रहेका छन् ।
पत्रिका सन्दर्भमा मुख्य सम्पादक रुद्र बरालले वक्तव्यका क्रममा भने, “सम्पादनमा नौलो प्रयोग गरिएको छ । प्रत्येक २ अङ्कपछि सम्पादनमा फेरबदल हुनेछ । पत्रिका चलाउन तीनवटा कुराले सघाउ पुऱ्याउँछ । ग्राहक, लेखक र प्रकाशन पक्ष । लेखक र प्रकाशन पक्ष हामीसँग छ, अब ग्राहक अर्थात् बजार व्यवस्था राम्रो बनाउने पक्षमा जोड दिनुपर्छ । पत्रिकाको स्तरीयता पनि म्यानटाइन गर्नुपर्छ । पृष्ठ सङ्ख्या १६० रहेको छ। एक प्रतिको मूल्य १५०/- राखिएको छ । वार्षिक शुल्क ८००/-, त्यसरी नै त्रैवार्षिक २३००/- राखिएको छ । २ हजार जति वार्षिक ग्राहक हुनु हो भने लेखकलाई पारिश्रमिक दिन सकिन्छ । अहिलेसम्म ‘इन्द्रेनी प्रकाशन’ले १९ वटा पुस्तक प्रकाशित गरिसकेको छ । अर्थात् ‘इन्द्रेनी प्रकाशन’ले सोचेका, थालेका कामहरू गरेकै छ।”
दोस्रो सत्रको उद्घाटन विशिष्ट स्रष्टा डा. इन्दुप्रभा देवीबाट भएको थियो । यस सत्रमा कटन विश्वविद्यालयका अध्यापक डा. सुरेश कुमार नाथले अनुवाद साहित्यमाथि छोटकरीमा गहकिलो वक्तव्य प्रस्तुत गरेका थिए ।
त्यसरी नै प्रागज्योतिष कलेजका अवकाशप्राप्त अध्यापक निरेन्द्रनाथ ठाकुरीयाले अनुवादकको भूमिका र अनुवादको प्रयोजनीयतामाथि मक्तव्य राखेका थिए भने विशिष्ट अनुवादक, कथाकार, समालोचक, कवि मोहन सुवेदीले अनुवादको सैद्धान्तिक पक्षबारे मक्तव्य राख्छन्।
कार्यशालामा विशिष्ट समालोचक नवीन पौड्याल, विशिष्ट कवि नव सापकोटा, बाल साहित्यकार मुन्नी सापकोटा, कवि डा. देवेन सापकोटा लगायत सर्जकहरूको विशेष उपस्थिति रहेको थियो । करिब ५० जना नवीन-प्रवीण अनुवादकहरूको उपस्थिति रहेको अनुवाद कार्यशालामा ४० जना असमिया कथाकारहरूका चयनित कथा नेपाली भाषामा अनूदित गरी अनुवादकहरूले लिएर आएका थिए ।
सन् २०२४ को फ्रेब्रुअरीतिर एउटा गहकिलो अनुवाद सङ्कलन प्रकाश हुनेछ । यस सङ्कलनका सम्पादकत्रय ढाकाराम काफ्ले, निलीमा आचार्य र दुलुमणि उपाध्याय रहेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
