काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, भाषा (मातृभाषा कोश र व्याकरण) विभागको आयोजनामा नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १५६ औँ जन्मजयन्ती तथा विचार गोष्ठी देवकोटा सभाकक्षमा सम्पन्न भएको छ।

यस गोष्ठीको प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको तस्बिरमा माल्यार्पण गरेर उद्घाटन गरेका थिए ।यस अवसरमा कुलपति राईले इतिहासको पूनर्लेखनसहित महाकवि सिद्विदास महाजुको व्यक्तित्व र कृतित्वलाई उजागर गर्नुपर्ने आवश्यकता रहेको कुरा बताएका थिए ।

यसै क्रममा प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले नेपाल भाषाका महाकवि सिद्विदास सबैका लागि प्रेरणाको स्रोत भएकाे बताए । साथै, सिद्धिदास उन्नतचेत भएका सुन्दर काव्यशिल्पीको रूपमा मानक बनिसकेको कुरा बताएका थिए ।

यस्तै, स्वागत मन्तव्यका क्रममा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपाल भाषाका महाकवि सिद्विदास महाजुले साहित्यमा पुर्याएको विशिष्ट योगदान अतुलनीय रहेको बताउँदै कार्यक्रमको ओैचित्यमाथि प्रकाश पारेका थिए ।

यस विचार गोष्ठीका अध्यक्ष एवम् प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा भाषा (मातृभाषा कोश र व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली ‘अगिव’ले महाकवि सिद्विदासले नेपाल भाषाको जागरण, सामाजिक, धार्मिक र सांस्कृतिक चेतनालाई आत्मसात् गर्दै साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याएको बारे समापन मन्तव्यमा उल्लेख गरेका थिए ।

उपर्युक्त गोष्ठीमा दुईवटा कार्यपत्र प्रस्तुत गरिए, जसमा ‘नेपाल भाषाको गीतमा प्रतिरोधी चेतना’बारे वदन शर्मा र नेपाल भाषाको आधुनिक कवितामा विद्रोही चेत’बारे रामेश्वर श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रस्तुत कार्यपत्रमा वदन शर्माले नेपाल भाषाका गीतको परिचय, पृष्ठभूमि , उद्वेश्य, सीमा, प्रतिरोधी गीतको विश्लेषण र यसको निष्कर्ष बारे चर्चा गरेका थिए । यस कार्यपत्रमाथि डा. चुन्दा बज्राचार्यले टिप्पणी गरेकी थिइन् ।

त्यसैगरी अर्का कार्यपत्र प्रस्तोता रामेश्वर श्रेष्ठले ‘नेपाल भाषाका आधुनिक कविताको विद्रोही चेतबारे विषयप्रवेश, पृष्ठभूमि, उद्वेश्य , सिमाङ्कन, अनुसन्धान पद्धति, नेपाल भाषा साहित्यमा प्रगतिवादी चिन्तन, नेपालका कवितामा विविध विद्रोह चेतका स्वर, निरङ्कुश शासकविरुद्ध विद्रोह चेत, समाजमा भएका वर्गभेद तथा जातिभेद विरुद्ध विद्रोह चेत विषयवस्तु आदि उल्लेख गरेका थिए । यस कार्यपत्रमाथि डा. चन्द्रमान बज्राचार्यले टिप्पणी गरेका थिए ।

साथै, राजभाइ जकमीले महाकवि सिद्विदासबारे रचित आफ्नो कविता वाचन गर्दै कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।

यस विचार गोष्ठीमा अन्य सहभागीका तर्फबाट जुजुकाजी रञ्जिताकार ,धर्मराज कर्णिकार, वज्ररङ्ग बज्राचार्य, इन्दुल केसी, वैरागी कान्छोले कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।

विचार गोष्ठीको सञ्चालन नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा प्रेस सल्लाहकार चेतनाथ धमलाले गरेका थिए ।