
सुरू भयो मुक्तक प्रतियोगिता:
साहित्यपोस्ट विद्युतीय पत्रिका ह्याक भएपछि रोकिएका प्रतियोगिताहरू पुनः सुरू भएका छन् । फोटो कविता प्रतियोगिताबाट यसको प्रारम्भ भएकोमा दोस्रो प्रतियोगितास्वरूप चौथो चरणको मुक्तक आव्हान गरिएको साहित्यपोस्टले जनाएको छ ।
साहित्यमा रुचि राख्ने नवसाहित्यकारहरुको स्तरवृद्धिलाई ध्यानमा राखेर ती प्रतियोगिताहरु सुरु भएका थिए । साहित्यपोस्ट प्रारम्भ भएयता हरेका साता मुक्तक र फोटो कविता प्रतियोगिताहरु भइरहेका छन् भने सरकारले लिपुलेक लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि निबन्ध प्रतियोगिता पनि सुरु भएको थियो ।
‘लामो बाटो तय गर्न हिँडेको साहित्यपोस्टमा केही व्यवधान आएका थिए । अब हामी प्राविधिकरूपमा थप बलिया भएका छौँ ।’ साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भने, ‘केही साता प्रतियोगिता रोकिने कारण पनि भोलिका दिनमा त्यस्ता व्यवधान नआऊन् भन्ने थियो, अब ढुक्क भयौँ ।’
नयाँ नियमसहित चौथो चरणका लागि मुक्तक आव्हानः
नयाँ नियमसहित साहित्यपोस्टले मुक्तक प्रतियोगिताको चौथो चरण सुरु गरेको छ । नयाँ नियम अनुसार एकपटक विजेता बनिसकेका मुक्तककारलार्इ प्रतियोगितामा पुनः सहभागी गराइने छैन । यसअघि यसका तीन चरण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । मुक्तक सम्पादक निसा केसीका अनुसार तीनै प्रतिस्पर्धामा पाठकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
साहित्यपोस्टका अनुासर प्राप्त मुक्तकहरूलाई विज्ञ समालोचक एवं मुक्तक विधामा नाम चलेका व्यक्तिहरूको रहोबरमा छानिने छ । यसरी छानिएका तीन मुक्तककारका तीन–तीन मुक्तकहरूलाई वर्षको अन्त्यमा उत्कृष्ट मुक्तकहरूको संगालो प्रकाशन गरिने छ । त्यसैगरि पुस्तकको डिजिटल कपी साहित्यपोस्टमा पढ्न र सुन्नसमेत पाइने छ ।
त्यसैगरि उत्कृष्ट मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरूलाई सार्वजनिक अभिनन्दनसहित आकर्षक नगद पुरस्कार पनि प्रदान गरिने छ ।
मुक्तकका निर्णायकहरूमा चर्चित समालोचक, साहित्य अन्वेषक प्राध्यापक डाक्टर लक्ष्मणप्रसाद गौतम रहनुभएको छ । त्रिभुवन विश्वविद्यालयमा दुई दशकदेखि अध्यापनरत गौतमका दर्जन बढी अनुसन्धानात्मक–समालोचनात्मक कृति प्रकाशित छन् । गौतमले एक दर्जन बढी पुस्तकको सम्पादन पनि गर्नुभएको छ । नेपाली साहित्यमा मुक्तकको पहिलोपटक सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने व्यक्ति पनि गौतम नै हुनुहुन्छ ।
अर्का निर्णायकमा ज्ञानु अधिकारी रहनुभएको छ । समालोचनामा विशेष रुचि राख्ने ज्ञानुका १५ कृति प्रकाशित छन् भने ६ वटा फरक विषयमा अनुसन्धान गर्नुभएको छ । पद्मकन्या क्याम्पसमा अध्यापनरत ज्ञानु नेपाली साहित्यकी चर्चित समालोचकमध्ये पर्नुहुन्छ ।
तेस्रा निर्णायकमा राजन सिलवाल रहनुभएको छ । २०४४ सालदेखि मुक्तक लेखनमा सक्रिय साहित्यकार राजन सिलवालको ‘दुई हजार सोह्र पाइला’ नामक मुक्तक संग्रह प्रकाशित छ । अन्य दुई जना निर्णायकहरूमा साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी र प्रधानसम्पादक अश्विनी कोइराला रहनुभएको छ ।
यो साताका तीन वटा विषय यसप्रकार रहेका छन् ।
पहिलो मुक्तकको विषयः प्रेम (यसलाई छुने जुनसुकै विषय वा घटना)
दोस्रो मुक्तकको विषयः विवाह (यसलाई छुने जुनसुकै विषय वा घटना)
तेस्रो मुक्तकको विषयः सम्बन्ध (यसलाई छुने जुनसुकै विषय वा घटना)
नियमहरू:
— सहभागीहरूले प्रत्येक विषयमा एक–एकवटा गरी तीनवटा मुक्तक तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ ।
— मुक्तक चतुष्पदीय हुनुपर्नेछ । यसका प्रथम, दोस्रो र अन्तिम हरफको अनुप्रास मिलेको र तेस्रो हरफ स्वतन्त्र हुनुपर्नेछ ।
— प्रत्येक मुक्तकको पूर्णाङ्क पाँच रहेको छ । प्रत्येक मुक्तकले संरचना, भाव, सटिकता, मौलिकता र नवीन कथ्यका आधारमा एक एक नम्बर प्राप्त गर्नेछन् ।
— पूर्ण वा आंशिक नक्कल गरिएका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन ।
– एकपटक पुरस्कृत भइसकेका मुक्तककारलार्इ प्रतियोगितामा समावेश गरिने छैन । (थप गरिएको)
— यसअघि अनलाइन,छापा वा कुनै पनि स्मारिकाहरूमा प्रकाशन भैसकेका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन । तर आफ्नो फेसबुक वालमा राखिएका मुक्तकहरू भने स्वीकार गरिने छन् ।
यो साताको प्रतियोगिता अहिल्यैबाट सुरु भई अर्को साताको बिहीबार (साउन २९ गते) रातको १२ बजेसम्म रहनेछ ।
पुनः स्मरणका लागि यो साताको विषय यस प्रकार रहेका छन्;
पहिलो मुक्तकको विषयः प्रेम (यसलाई छुने जुनसुकै विषय वा घटना)
दोस्रो मुक्तकको विषयः विवाह (यसलाई छुने जुनसुकै विषय वा घटना)
तेस्रो मुक्तकको विषयः सम्बन्ध (यसलाई छुने जुनसुकै विषय वा घटना)
यो खुला प्रतियोगिता हो । यसका लागि यही पेजको तल कमेन्ट बक्समा आफ्ना तीनवटा रचना पोस्ट गर्नुपर्नेछ । प्रत्येक विषयमा एउटा मात्र मुक्तक स्वीकार गरिनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
९ माघ २०८२, शुक्रबार 





