‘ज्याग्दीखोला साहित्य प्रतिष्ठान’, स्याङ्जाले साहित्य, सङ्गीत तथा कलामा साधना गरी विशिष्ट योगदान पुर्याउने स्रष्टाको सम्मान गर्ने उद्देश्यले प्रत्येक वर्ष ‘ज्याग्दीखोला साहित्य–कला पुरस्कार’ प्रदान गर्दै आएको छ ।
प्रतिष्ठानले यस वर्ष उक्त पुरस्कारद्वारा कवि पोषराज पौडेल (वि.सं. २००१) लाई सम्मान गर्ने भएको छ ।
कास्की, पोखराको घार्मीमा जन्मेका पोषराजका माडीयात्रा (खण्डकाव्य– २०३९), मेक्सिम गोर्की (कवितात्मक जीवनी– २०४३), आमा स्मृतिका छालमा (शोककाव्य– २०४९), पागल प्रलाप (काव्य– २०५५), शहीद गाथा (महाकाव्य– २०५७), आदर्श कोकिल (काव्य), अग्निगर्भका आवाजहरु (कवितासङ्ग्रह), अतीतका पानाहरु (आत्मकथा), स्वप्न बिम्ब (काव्य), शुक्लागण्डकी (महाकाव्य) लगायतका कृतिहरु प्रकाशित छन् ।
मदनमोहन स्मृति पुरस्कार– २०६९, शारदा स्मृति पुरस्कार– २०७०, गण्डकी वाङ्मय पुरस्कार, पोखरा– २०७१ आदिबाट पौडेल यसपूर्व पुरस्कृत तथा सम्मानित व्यक्तित्व हुन् । दस हजार राशिको यस पुरस्कारद्वारा विगतमा गङ्गा कर्माचार्य पौडेल (२०७६), विश्वप्रेम अधिकारी (२०७७), छायाँदत्त न्यौपाने ‘बगर’ (२०७८) र चिन्तु गिरी (२०७९) सम्मानित भएका थिए ।
पुरस्कार तथा सम्मानका लागि प्रतिभा चयन गर्न प्रतिष्ठानले सल्लाहकार त्रिलोचन ढकालको संयोजकत्वमा प्रतिष्ठानका उपाध्यक्ष अग्नि पल्लव र सदस्य रेशम गोतामे रहेको तिन सदस्यीय प्रतिभा छनोट समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसअनुरुप नै यसपटक ‘विश्वराधानेत्रा साहित्य पुरस्कार’ २०८० सुकुम शर्मालाई, ‘ज्याग्दीखोला साहित्य सम्मान’ २०८० वनमाली निराकारलाई र ‘ज्याग्दीखोला साहित्य–कला पुरस्कार’ २०८० पोषराज पौडेललाई प्रदान गर्ने भएको हो ।
पुरस्कार तथा सम्मानको कार्यक्रम दसैंपछि आयोजना गर्नुका साथै यी तीनवटै पुरस्कार प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको जानकारी प्रतिष्ठानका सहसचिव नारायण मरासिनीले दिनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।