‘ज्याग्दीखोला साहित्य प्रतिष्ठान’का अध्यक्ष देवेन्द्र लम्सालद्वारा आफ्ना मातापिताका नाममा २०७५ सालमा स्थापित ‘विश्वराधानेत्रा साहित्य पुरस्कार’ २०८० द्वारा विगत तिन दशकभन्दा बढी समयदेखि निरन्तर साधनारत स्रष्टा-द्रष्टा व्यक्तित्व डा. गोविन्दप्रसाद शर्मा (सुकुम, वि.सं. २०२७) लाई सम्मान गरिने भएको छ ।

यो पुरस्कार समाजवादी यथार्थवाद अथवा आलोचनात्मक यथार्थवादी धारामा कलम चलाउने स्रष्टा-द्रष्टालाई प्रदान गरिँदै आएको छ ।

स्याङ्जामा जन्मी काठमाडौंमा रहेर साधना गरिरहेका सुकुमले प्रगतिवादी साहित्यको उन्नयनमा समर्पित हुँदै समालोचना, निबन्ध, आख्यान, कवितालगायतका विधामा कलम चलाउँदै आएका छन् ।

उत्कृष्ट निबन्ध पुरस्कार (२०५४); पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार (२०६४); मनकुमारी केदार शर्मा ढकाल प्रतिभा पुरस्कार (२०६७); पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति पुरस्कार (२०७६); भूपि स्मृति पुरस्कार (२०७७) आदि मानसम्मान तथा पुरस्कारहरु प्राप्त गरिसकेका सुकुमका अमिला अणु (मुक्तक सङ्ग्रह, २०४८); मर्मै मर्म (गीतिकविता सङ्ग्रह, २०४९); आगोको यात्रा (गद्य खण्डकाव्य, २०५७); समय सीमा (गीतिनाटक, २०७७) लगायत २० भन्दा बढी सिर्जनात्मक कृतिहरु प्रकाशित छन् ।

उनका नेपाली व्याकरणको ऐतिहासिक सर्वेक्षण (शोधग्रन्थ, २०५६); कवि इच्छुक कविताका सन्दर्भमा (समालोचना, २०६०); परिचयका सन्दर्भमा घनश्याम ढकाल (समालोचना, २०७६); साहित्यमा मोहनविक्रम सिंह (समालोचना, २०७७) आदि १४ भन्दा बढी समालोचनात्मक तथा अनुसन्धानमूलक कृतिहरु प्रकाशित छन् ।

यसपूर्व ‘विश्वराधानेत्रा साहित्य पुरस्कार’बाट २०७६ मा प्रा.डा. ताराकान्त पाण्डेय, २०७७ मा प्रा.डा. रविलाल अधिकारी, २०७८ मा दिल साहनी र २०७९ मा डा. कृष्णराज अधिकारी सम्मानित भएका थिए । पुरस्कारको राशि रु. १५ हजार रहेको छ ।

पुरस्कार तथा सम्मानका लागि प्रतिभा चयन गर्न प्रतिष्ठानले सल्लाहकार त्रिलोचन ढकालको संयोजकत्वमा प्रतिष्ठानका उपाध्यक्ष अग्नि पल्लव र सदस्य रेशम गोतामे रहेको तिन सदस्यीय प्रतिभा छनोट समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसअनुरुप नै यसपटक ‘विश्वराधानेत्रा साहित्य पुरस्कार’ २०८० सुकुम शर्मालाई, ‘ज्याग्दीखोला साहित्य सम्मान’ २०८० वनमाली निराकारलाई  र ‘ज्याग्दीखोला साहित्य–कला पुरस्कार’ २०८० पोषराज पौडेललाई प्रदान गर्ने भएको हो ।

पुरस्कार तथा सम्मानको कार्यक्रम दसैंपछि आयोजना गर्नुका साथै यी तीनवटै पुरस्कार प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको जानकारी प्रतिष्ठानका सहसचिव नारायण मरासिनीले दिनुभयो ।