उत्तरी मोरङको मिक्लाजुङ र इलामको चुलाचुली गाउँपालिकाको सीमाक्षेत्र कुइनेटार कवितामय भयो । हावाहुरी र झरीका बिच सुनसरी, मोरङ, झापा तथा इलामका स्रष्टाहरूकाे उपस्थितिमा कुइनेटार कवितामय बनेकाे हाे ।
कवि तथा गीतकार दीपा राई पुनको नवीनतम कृति ‘दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरू’सँग उत्सव मनाउन स्रष्टाहरू भेला हुँदा स्वयं कवि पुन भने अमेरिकामा थिइन् ।
कवि पुनको उपस्थित नभएका पनि उनका तीन दर्जन बढी कविताहरू वाचन भए । सो उत्सवमा सभ्यता निरौलाले ‘फूल र म’ शीर्षकको कविता वाचन गरेर सुरु भएको कार्यक्रममा मोरङका कवि रमेशचन्द्र अधिकारीले ‘परदेशी पीर’, इलामका कवि सुन्दर कुरुपले ‘जीवन अनुभूति’, विवश भलिभद्र कोइरालाले ‘हार छैन स्वीकार,’ कविता वाचन गरे । त्यस्तै, विराट किराँती, अभागी थेगुवा, राजकुमार अनिश्चि, साङसेन पन्धाक, सुमन राई, मुनायात्रेय, यज्ञ परिश्रमी, कृष्ण उदासी, निहाङ किराती, टीका राष्ट्रप्रेमी, राजेन्द्र विवश, सकुन्तला मञ्जरी, दीपक दियालो, साइप्रिया बराललगायतका कविहरू डेढ घण्टा पुनका कवितामा रमे ।
सो उत्सवमा कार्यक्रमका विशेष व्यक्तित्व कवि मनु मन्जिलले दीपा राई पुनको कविता पढ्दा मेडिटेसनको एउटा चरणमा प्रवेश गरिने बताए । कविताबारे धारणा पोख्दै उनले भने, ‘प्रकृतिसँग रम्ने कवि दीपाका कविताहरू स्वयं प्रकृति जस्तै लाग्छन् । कवितामा बनावटी केही छैनन् । सफा हृदयले जे छोए पनि त्यो सुन्दर देखिन्छ । कवि दीपाका कविताहरू तिनै सुन्दर मनको अभिव्यक्ति हुन् ।’
कार्यक्रममा कुइनेटार धार्मिक तथा पर्यटन व्यवस्थापन समितिका उपाध्यक्ष केबी किरातले साहित्यलाई पर्यटनसँग जोडेर पुलको काम गर्नाले यस क्षेत्रको आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
मिक्लाजुङ साहित्य समाजको आयोजनामा भएको कार्यक्रममा समाजका अध्यक्ष कवि गगन योक्पाङदेनले आउँदा दिनमा समेत साहित्य र पर्यटनलाई एकसाथ लैजाने योजना रहेको सुनाए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।